काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौंमा सरकारले धरपकड गरेको बताएका हुन् ।
उनले लेखेका छन् । ‘शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरू अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरूद्धका काम हुन् ।’

लिङ्देनले धरपकड गरी कुनै पनि समस्याको समाधान ननिस्किने भएकाले सरकारले आफूलाई सच्याउनुपर्ने बताएका छन् ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए ।
वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराए ।
उनले भने, ‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनु हुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन ।’
काठमाडौंको तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले आन्दोलन गर्ने बताएको थियो। तर आन्दोलन गर्न उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति लिएका छैनन्।
उनलाई प्रशासन कार्यालयले काठमाडौंको बल्खुमा प्रदर्शन गर्न अनुमति लिए दिने बताएको छ।














