Logo
Logo

कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेश हुँदै


756
Shares

विराटनगर । कोशी प्रदेश सभा बैठक आज (शनिबार) बस्दैछ । आज बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ ।

तत्ककालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वले ल्याएको कोशी प्रदेश विनियोजन अध्यादेश प्रतिस्थापनको तयारी गरेको हो । कोशी प्रदेश सभाको बैठकमा आज कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने दैनिक कार्यसूचीमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षका लागि अध्यादेशबाट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए । सरकारमा रहेका माओवादी र जसपाले बजेट ल्याउनु भन्दा एक साता अघि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि कार्कीले जेठ ३२ अध्यादेशबाट बजेट ल्याएका थिए ।

दोस्रो पटक पनि उनले सो अध्यादेशलाई निरन्तरता दिएका थिए । सो बजेटमा पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड छ ।

प्रदेश सरकारले पहिलो चौमासिकमा चालूतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपैयाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ । पूँजीगत तर्फ भने हालसम्ममा १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपैयाँ अर्थात् ७.५४ प्रतिशत खर्च गरिसकेको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको दैनिक कार्यसूची अनुसार शनिवारको बैठकमा उक्त विधेयक पेश हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्