Logo
Logo

डोटीको दिपायल विमानस्थल कालोपत्रेको काम सकियो


- दृष्टि न्युज/संवाददाता


डोटी, ४ फागुन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल बिमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ । बिमानस्थलमा कालोपत्रेको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाल लगायतको काम सञ्चालन भैरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्य सहित बिसं २०७४ सालमा निर्माण कार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रेको काम बल्ल अहिले आएर सकिएको हो । बिमानस्थलको कालोपत्रेको काम सकिएर बाँकी अन्य धावन मार्गको पर्खाल,तार जाली लगाउने काम सुरु भएको बिमानस्थल कालोपत्रेको जिम्मा पाएका सप्नाग्याल्भा तथा भेबी कन्ट्रकसनका साईड प्रमुख राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ हामीले बिमानस्थलको पिचको काम सकेका छौँ, धावन मार्गकाकाम पनि केही दिनमा सक्नेछौँ ।” बिमानस्थलहरुमा रनवे रेखाङ्कन लगायतका कामहरु सुरु भएको उहाँले जानकारी दिनुभयो । दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम समयमै नसकिएको भन्दै स्थानीय स्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रेको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकवर्ष पहिले सकिनु पर्ने काम अल्पात्र पारेपछि हामीले स्थानीय स्तरबाट दबाब दिएका कारण कालोपत्रेको काम सकिएको हो,अरु धेरैकाम गर्न बाँकी नै छ, सम्बन्धित निकाएले समयमै ध्यन दिनु जरुरी छ ।” नेकपाका डोटीबाट निर्वाचत संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल बिमानस्थल कालोपत्रेकोका लागि बजेट विनियोजन गरेको थियो । करिब रु साढे ५ करोडको लागनीमा दिपायल बिमानस्थल कालोपत्रे तथा स्तरोन्नतीको काम सप्नाग्याल्भा तथा भेबी कन्ट्रकसनले जिम्मा लिएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरीक उड्यन प्राधिकरणले समयमै म्याद नथप्दा बिमानस्थल निर्माण कार्य ढिला हुँदै आएको स्थानीयबासीको आरोप छ । बिगतमा लक्ष्य अनुसार काम नहुँदा कालोपत्रेको काम सुरु नभएर यो बिमास्थलको काम अलपत्र परेको थियो । अहिले बल्लआएर कालोपत्रेको काम सकिएपछि यहाँका स्थानीयहरु बिमानस्थल सुचारु हुनेमा निकै खुसि भएको दिपायल पिपल्लाका स्थानीय तथा पूर्व डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमानस्थलको काम अलपत्र पर्छकी भन्ने सोचेका थियौँ,अहिले पिचको काम सकिएको छ, अब त प्लेन चल्ला की ?” बिमानस्थल कालोपत्रे संङ्गै वरीपरिको जमिन सम्म पार्ने,बिमानस्थल भवनमा रङ रोगन लगाउने र गेट निर्माणको काम पनि सुचारु भैरहेकोछ । दिपायल संङ्गै कालोपत्रे निर्माण सुरु गरिएको अछाम जिल्लाको साँफेबगर बिमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परिक्षण उडान समेत भै सकेको छ ।

उता बैतडीको पाटन बिमानस्थलको कालोपत्रेको कामपनि सम्पन्न भैसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सकिएपछि जहाज चल्ने आसामा त्यहाँका स्थानीय पनि खुसि भएकाछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा बिमानस्थल कालोपत्रेको काम सुरु गरिएको थियो । डोटीको दिपायल र बैतडीको पाटन सहितका दुईवटा बिमानस्थलहरु निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रहरुमा पर्यटक भित्रयाउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटेल व्यवसायि नन्दनसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाका दुई बिमानस्थल दिपायल र पाटनमा नियमित जहाज चलाए यहाँको आफै बिकास हुने छ ।” दिपायल बिमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकिय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान लगायतका क्षेत्रमा पर्यटकहरु भित्रयाउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायि कृष्ण महराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाहरु पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकोका ठाउँहरु हुन्, बिमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो हुने छ ।”

प्रतिक्रिया दिनुहोस्