
काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ । पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले २ रन जोड्दा २ विकेट गुमाएको हाे ।
नेपालका गुल्सन झा र आकाश चन्दले विकेटकिपर नुमान शाह र खालिद तानिवाललाई खाता नखोली आउट गराए ।
गुल्सनले पहिलो ओभरको चौथो बलमा र आकाशले दोस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।














