Logo
Logo

प्रहरी इन्सपेक्टर ‘फरार’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ फागुन । पूर्वमन्त्री मोहम्मद आफताव आलम १२ वर्षअघिको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा यतिबेला नख्खु कारागारमा छन् । २०६४ सालमा भएको घटनामा उनी गत असोजमा पक्राउ परेका थिए ।

प्रहरीले निकै मिहिन ढंगले घटनाको अनुसन्धान गरी उनलाई पक्राउ गरेको थियो । प्रहरीले आफूलाई फसाएको आरोप उनले लगाउँदै आएका छन् । प्रहरीलाई गालीगलौज गर्ने आलमका आफ्नै छोरा भने प्रहरीमा इन्सपेक्टर छन् । तर, बाबु पक्राउ परेपछि उनी प्रहरीको कार्यालयमा उपस्थित भएका छैनन् । रौतहट प्रहरीले खोजी गर्दा पनि उनी भेटिएका छैनन् ।

प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलमले जानकारी नदिई जागिर छाडेका हुन् । असोज अन्तिमदेखि नै उनी हाजिर नभएको अस्पताल स्रोत बताउँछ । पत्रिकामा सूचना निकालेर उनलाई जागिरबाट बर्खास्त गर्ने प्रहरी तयारी छ ।

एमबीबीएस डाक्टर आलमले प्रहरीमा जागिर खाएको डेढ वर्ष मात्र भएको थियो । अन्यत्र पनि अवसर पाइने भएकाले उनी हाजिर हुन नगएको बताइन्छ ।

उता डिआइजी राजीव सुब्बाको राजीनामा अलपत्र परेको छ । सरकारी छात्रवृत्तिमा विदेश पढेर फर्किएको पाँच वर्ष पूरा नभई राजीनामा दिन नपाइने प्रावधान छ । उनले हवाई युनिभर्सिटीबाट पिएचडी गरेका हुन् । पिएचडी गरेर फर्किएको पाँच वर्ष भएको छैन । सोही कारण उनको राजीनामा स्वीकृत नभएको स्रोत बताउँछ । एक वर्षको तबल फिर्ता गरे मात्र राजीनामा स्वीकृत हुने जानकारी उनलाई गराइएको छ । आफू एआइजीमा बढुवा हुने नदेखेपछि उनले राजीनामा दिएका हुन् । प्रहरीभन्दा बाहिर धेरै अवसर भएकाले पनि राजीनामा दिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्