झापा । लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा सङ्कट थपिएको विज्ञहरूले जनाएका छन् ।
फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा लीलानाथ शर्माले झापाको मेचीनगरमा हालै भएको ताजा अध्ययनले १५ वटै वडामा ‘उल्टा काँडा’ फैलिएको भेटिएको र त्यसबाट जैविक विविधतामा सङ्कट निम्तिएको बताए । झापाको १५ वटै पालिकामा यो मिचाहा वनस्पति फैलिइसकेको शर्माले बताए ।

डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासङ्घ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा फरेस्ट एक्सन नेपालले मेचीनगरमा छजना प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गरेको थियो ।
अध्ययनले सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा मेचीनगर नगरपालिकाले समेत चासो बढाएको छ ।
वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा विषालु झुस हुन्छ भने यसको घाँस खाएका पशु बिरामी भएर मर्ने गर्छन् ।
झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रूपमा फैलिरहेको अनुसन्धाता शर्माले बताए । यसको तत्काल नियन्त्रण गर्न विशेष कार्यक्रम नै चाहिने उनको सुझाव छ ।
‘उल्टा काँडा’ झार नियन्त्रण अभियान सञ्चालन गरिरहेको फरेस्ट एक्सन नेपालले केही वर्षअघि गरेको अर्को अध्ययनले झापाका अधिकांश सामुदायिक वन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारलाई विस्थापित गरिरहेको निष्कर्ष निकालेको थियो ।
झापा र मोरङमा एक दशकमा पाँच सयभन्दा बढी चौपाया ‘उल्टा काँडा’को घाँस खाएर मरिसकेको फरेस्ट एक्सन नेपालले जनाएको छ । ‘उल्टा काँडा’को विषाक्त घाँस खाँदा मरेका पशुमा बाख्राखसीको सङ्ख्या आधाभन्दा बढी रहेको बताइएको छ ।
‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्वीप मानिएको छ । दुई दशकअघिदेखि नेपालमा यसले फैलिन थालेको मानिन्छ । भुटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको विज्ञहरूको अनुमान छ । हाल पूर्वी नेपालमा मात्र यो पाइएको छ ।
अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीव्रगतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुला ठाउँ, जङ्गल, सडक छेउछाउ र ढुङ्गा बालुवा छरिएको ग्राभेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुङ्गा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको हो ।
यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको सामुदायिक वन महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताए ।
झापाका २२ सामुदायिक वनमा अध्ययन गर्दा यसले जैविक विविधतामा सङ्कट निम्त्याइसकेको पाइएको उनले बताए । ‘यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छन्’, भण्डारीले भने, ‘फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र वन्यजन्तुसमेत छिर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।’
मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँस खाएका अर्जुनधाराका थुप्रै पशु चौपाया मरेको उनले बताए । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् ।
झापाको टिमाइ, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँबस्तीमा फैलिने गरेको छ । बिर्तामोडको निचाझोडा सामुदायिक वनको २० हेक्टरभन्दा बढी जमिनमा ‘उल्टा काँडा’ झारले रैथाने वनस्पतिलाई विस्थापित गरिसकेको छ ।
‘जहाँ फैलिएको छ, त्यहीँ यसलाई मास्ने कार्य गरेमा मात्र नियन्त्रण प्रभावकारी हुन्छ’, फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा शर्मा भन्छन्, ‘स्थानीय तह, वन समिति र नागरिक समाज नै यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।’
झाडीलाई समूल फाँडेर र उखेलेर आगो लगाई नष्ट गरेर यसको नियन्त्रण गरिँदै आएको उनले बताए
जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै फरेस्ट एक्सन नेपालले झापाको हल्दिबारी, मेचीनगरलगायतका पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको छ ।
‘यो माइकेनिया झारभन्दा पनि डरलाग्दोसँग फैलिएको छ’, उनले भने ‘तत्काल नियन्त्रण गर्न पहल नगर्ने हो भने मास्नै नसक्ने गरी फैलिनेछ ।’














