Logo
Logo

डिआइजी नै अलपत्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ चैत । एक महिनायता नेपाल प्रहरी अस्तव्यस्त छ । एकातर्फ समायोजनको गोलचक्कर र अर्काेतर्फ बढुवाको दौडधुप । एआइजीका तीन र डिआइजीका २२ पद रिक्त छन् । एआइजीमा दुई साताअघि नै बढुवा सिफारिस भएपनि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुँदा मन्त्रिपरिषद्ले बढुवाको औपचारिक निर्णय र पदस्थापन हुन सकेको छैन । एसएसपी र एसपीका समेत दर्जनौै पद रिक्त भएकाले प्रहरी अस्तव्यस्त छ ।

एक महिनादेखि पाँच वटा प्रदेश डिआइजी विहिन छन् । प्रदेश नम्बर १, बाग्मती, गण्डकी, ५ र कर्णली प्रदेश निमित्तका भरमा चलेका छन् । जसकारण ती जिल्लामा प्रहरीभित्र समस्या उत्पन्न भइसकेको छ । केन्द्रीय विभागहरु नै अस्तव्यस्त छन् । यस्तो अवस्थामा प्रहरी मुख्यालयमा एक डिआइजी भने बेरोजगार छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीै ब्याची सूर्य उपाध्याय जिम्मेवारीविहिन छन् ।

चार महिनाअघिसम्म उनी विमानस्थल प्रहरी प्रमुख थिए । विमानस्थल प्रहरी कार्यालय महानगरीय प्रहरी कार्यालय अन्र्तगत पर्दछ । महानगरीय प्रहरी कार्यालयमा उनीभन्दा जुनियर विश्वराज पोखरेलको सरुवा भएपछि उपाध्याय त्यहाँबाट बिदा मागेर हिडेका थिए । हालसम्म उनलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिइएको छैन । महानिरीक्षककै सचिवालयमा हाजिर गर्दै आएका छन् ।

एआइजी बढुवामा पनि उनीभन्दा जुनियर ब्याचका शैलेश थापा र हरि पाल बढुवा भए । उनी छुटे । बढुवामा डिआइजीमै पछि परेका उनलाई जिम्मेवारीमा समेत बेवास्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्