काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कपमा नेपाल मलेसियासगँ चार विकेटले पराजित भएको छ ।
जितको लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ ओभार ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जित दिलाए ।

मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रन जोडे । नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिए ।
त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएका थिए । डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
ओपनर सीता रानामगरलाई ६ रन र रुविना क्षेत्री १८ बलमा २ चौकासहित २० रनमा आउट भएका थिए ।
योसँगै तेस्रो पटक फाइनल खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । त्यस्तै नेपालले एसिया कप टी–२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ । यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ । फाइनल आइतबार हुनेछ ।














