Logo
Logo

सचिवालयको जगजगी


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर फर्किएको भोलिपल्टै बिना ‘मास्क’ प्रधानमन्त्री ओलीको फोटो पोष्ट गरेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा विवादमा आए । त्यसपछि सार्क भिडियो कन्फ्रेन्समा सचिवालय सदस्यहरु बिना ‘मास्क’ प्रधानमन्त्री ओलीको पछाडि बसेको तस्बिर विश्वभर प्रसारण भयो । यी दुई घटनालाई लिएर सचिवालय सदस्यहरुको आलोचना भयो । भर्खरै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई आरामको जरुरत पर्छ । त्यसमाथि कोरोना भाइरसले विश्व हल्लाइरहेको बेला उच्च सतर्कता अपनाउनु पर्छ । बालुवाटारको यस्ता गतिविधिले प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति उनका सल्लाहकारहरु गम्भीर नभएको टिप्पणी सार्वजनिक भयो । तर पनि जनताले के भन्छन् भन्ने कुरालाई लाजै पचाएर बिना ‘मास्क’ प्रधानमन्त्री ओलीका सल्लाहकारहरु सामाजिक सञ्जालमा छाइनै रहेका छन् ।

घटना चैत ३ गते सोमबार दिउँसोको हो । धरहरा हेर्न प्रधानमन्त्री ओली आउने हल्ला चल्यो । धरहरा बनाउने ठेकेदारले त्यो कुरा पत्याएनन् । किनभने प्रधानमन्त्री ओलीले भर्खरै मात्र मिर्गौला प्रत्यारोपण गरेका छन्, उनी आउने कुरा सत्य होइन भनेर चुप लागेर बसे । त्यसपछि पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले ठेकेदार कम्पनीलाई फोन गरे । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलगायत एउटा टिम धरहरा पुनःनिर्माणको काम के भइरहेको छ भनेर निरीक्षण गर्न आउँदैछन् भने । ठेकेदार कम्पनीका कर्मचारहिरु तमतयारी हालतमा बसे । नभन्दै विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, इन्द्र भण्डारी र सुशील ज्ञवाली धरहरा पुगे । नवौ तला ढलान गर्दै गरेको काम निरीक्षण गरे । थप काम के–के हुँदैछ ? कहिलेसम्म धरहराको काम पूरा हुन्छ ? संग्रहालय, पार्क, बगैँचा कहाँ कहाँ बन्दैछ ? सबै कुरा सोधे । ठेकेदार कम्पनीका प्रमुख श्याम श्रेष्ठले सबै जानकारी दिए । त्यसपछि उनीहरु त्यहाँबाट फर्किए र रानीपोखरी पुगे । त्यहाँ पनि पुनःनिर्माण कहिले सकिन्छ भनेर प्रश्न गरे । प्रधानमन्त्रीकै शैलीमा सल्लाहकारहरु प्रस्तुत भएको देखेर पुनःनिर्माण प्राधिकरणका प्रमुख ज्ञवालीले अलि असजिलो महसुस गरेका थिए ।

यी सबै कुराहरु त्यतिबेलासम्म बाहिर आएको थिएन, जतिबेलासम्म प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उक्त गतिविधि आफ्नो ‘फेसबुक’मा पोष्ट गरेका थिएनन् । थापाले धरहरा र रानीपोखरीमा खिचिएको ‘मास्क’बिनाको सामूहिक तस्बिर सार्वजनिक गरेपछि यो घटना एक कान दुई कान मैदान भयो । प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेको बेला फुर्सदिला भएका सल्लाहकारहरु दिन बिताउन निरीक्षणमा निस्किएका थिए । प्रधानमन्त्री ओलीले तिनीहरुलाई निरीक्षण गर्न पठाएका थिएनन् । प्रधानमन्त्रीले पनि ‘फेसबुक’बाटै आफ्ना सल्लाहकारहरु धराहरा र रानीपोखरी निरीक्षणमा गएको कुरा थाहा पाएका थिए । प्रधानमन्त्री ओलीको जानकारी र निर्देशनबिना उनका सल्लाहकारहरुले ‘पावर’को कसरी ‘मिस यूज’ गर्छन् भन्ने कुराको सामान्य उदाहरण मात्र हो यो । यो रोगलाई समयमै उपचार गरिएन भने देश अराजकतातर्फ उन्मुख हुनेछ । किनभने, सल्लाहकारको काम राज्य सञ्चालन गर्नु होइन । राज्य सञ्चालन गर्न त प्रधानमन्त्री, मन्त्री, सचिवलगायत सिंगो कर्मचारीतन्त्र छ । सल्लाहकारको काम भनेको त प्रधानमन्त्रीलाई आवश्यकता पर्दा सहयोग गर्नु मात्रै हो । राज्यले प्रत्यक्षरुपमा सल्लाहकारलाई चिनेको हुँदैन । उनीहरु न त चुनाव जितेर आएका हुन्, न त लोकसेवा पास गरेर नै । त्यसैले उनीहरु जसले नियुक्त गरेका हुन्, उनीसँग मात्रै जोडिएका हुन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पनि धेरै विज्ञ, सल्लाहकारहरु होलान् । तर, यसरी नांगै कतै पनि सिएनएनले तिनीहरुको अनुहार सार्वजनिक गरेको देखिएको छैन । कोरोनासम्बन्धी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भिडियो कन्फ्रेन्समा नेपालले जुन बौद्धिक दरिद्रता प्रकट ग¥यो, त्यस्तो दृश्य सार्कका अन्य देशले गरेको देखिएन । तर, नेपालमा भने प्रधानमन्त्री ओलीभन्दा उनका सल्लाहकारहरु शक्तिशाली र निर्णायक जस्ता देखिएका छन् । मुख्यसचिव, सचिवहरुले प्रधानमन्त्रीलाई होइन, उनका प्रमुख सल्लाहकार विष्णु रिमाललाई ‘ब्रिफिङ’ गर्नुपर्ने परम्परा कायम गरिएको छ । मन्त्रीहरुलाई निर्देशन पनि प्रधानमन्त्रीले होइन, उनका सल्लाहकारहरुले दिँदै आएका छन् ।

लोकतन्त्र पारदर्शी र जनताप्रति उत्तरदायी शासन व्यवस्था हो । त्यसलाई कुरुप पार्न बालुवाटारमा सल्लाहकार समूह सक्रिय छ । सल्लाहकारहरुको यस्तो हर्कतका कारण प्रधानमन्त्री ओली विवादमा आउने गरेका छन् । पार्टीभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्ने काम पनि यिनै सल्लाहकारका गतिविधिले गर्दै आएका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच फाटो ल्याउन अनेकौँ खालका गतिविधि यी सल्लाहकारबाट भएको कुरा लुकेको छैन । अहिले आएर वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न पनि यही सल्लाहकार समूहले ओलीलाई उकासिरहेका छन् । पार्टीले गरेका निर्णय पालना नभए एकता प्रक्रिया कसरी टुंगिन्छ भन्ने चिन्ता सचिवालयलाई छैन । यिनका पछिल्ला गतिविधि हेर्दा पार्टी नै फोड्ने खालका काममा यिनीहरु दिनरात जुटिरहेको हो कि भन्ने शंका उत्पन्न भएको छ । नेकपाको सरकार ढाल्न र ओलीलाई असफल बनाउन देशी विदेशी शक्ति चलखेल गरिरहेको बेला ती शक्तिलाई बल पु¥याउने खालका काम ओलीका सचिवालयबाट भइरहेको छ । यसतर्फ सिंगो पार्टीपंक्ति र स्वयं प्रधानमन्त्री ओली समयमै सजग हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्