काठमाडौं । नेपालले आज टी–२० क्रिकेटअन्तर्गत वेस्टइन्डिज ‘ए’विरुद्ध चौथो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियू खेल मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ ।
पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्टइन्डिजको ‘ए’ टोली नेपालमा छ । नेपाल भ्रमणमा रहेको वेस्टइन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

जारी शृङ्खलामा वेस्टइन्डिज २–१ ले अगाडि छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्टइन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्टइन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
वेस्टइन्डिजविरुद्धको शृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन् । उनले शृङ्खलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।
यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्टइन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । वेस्ट इन्डिजको कुनैपनि टोली नेपाल भ्रमणमा आएको यो पहिलोपटक हो ।
यसअघि सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्टइन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।
नेपालसँगै वेस्टइन्डिजसले आगामी आईसीसी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ ।














