
काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया बिक्री गर्न रोक लगाएको छ ।गाउँपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै स्त्री जातिका पशुचौपायाहरू विशेष गरी भैँसीको बिक्री वितरण तथा ओसारपसार नगर्न÷नगराउन अनुरोध गरेको हो ।
गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले कृषि, पशुपालन तथा दुग्ध उत्पादनलाई व्यावसायिक बनाउने गरी कार्यक्रम चलाइरहेको भन्दै स्त्री प्रजातिका पशुचौपाया अन्यत्रै मासुजन्य प्रयोजनका लागि निकासी भइरहेको थाहा हुन आएकाले किसानकै आग्रहमा सो कार्य गर्न रोक लगाएको बताए ।
गाउँपालिकाको उक्त कदम कानून सम्मत भएको र सूचना विपरीत गए पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार कारबाही गर्ने भनाई क्षेत्रीको छ । विशेष गरी स्त्री प्रजातिको भैंसी बिक्रीमा पालिकाले जोड गरेरै रोक लगाएको हो ।
गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमा अनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ ।














