काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा बाराको अम्लेखगञ्जमा भारी वर्षा भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा १०५.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, इलाममा ८८.६, मोरङको लेटाङमा ८५.४, सर्लाहीको पत्थर कोटमा ८४.८, नवलरपुरको देउरालीमा ९५.२, सप्तरीको बरमझियामा ६८.८ मिलिमिटर वर्षा मापन भएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














