Logo
Logo

अमिताभ बच्चनको घर र बमले उडाइदिने धम्की


0
Shares

काठमाडौं । भारतको मुम्बईमा बलिउड अभिनेता अमिताभ बच्चनको निवास ‘जलसा’ र चर्चित गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ ।

मुम्बईमा भएको २६/११ को आतंकवादी हमलाको १८औँ स्मृति दिवसकै दिन विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनीसहित धम्कीपूर्ण इमेल प्राप्त भएको हो ।

मुम्बईकी मेयर ऋतु तावडेलाई प्राप्त इमेलमा बृहन्मुम्बई महानगरपालिका (बीएमसी) मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जाल र अन्य संवेदनशील स्थानमा बम विस्फोट गराउने उल्लेख गरिएको छ ।

त्यस्तै, शुक्रबार (नोभेम्बर २७) महालक्ष्मी रेसकोर्समा आयोजना हुने गायक दिलजीत दोसाँझको कन्सर्टलाई समेत निशाना बनाइएको छ । कन्सर्ट आयोजना गरिए मुम्बईमा लगातार ३० दिनसम्म ग्रिनेड आक्रमण गर्ने चेतावनी इमेलमा दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धम्कीपूर्ण इमेलमा खालिस्तान र सन् १९८४ का सिखविरोधी दंगाको प्रसंग उल्लेख गर्दै ‘बब्बर खालसा (परमार–क्यानडा)’ र ‘खालिस्तान नेसनल आर्मी’ नामका संगठनको उल्लेख गरिएको छ ।

यसअघि दिलजीत दोसाँझको बेंगलुरुमा हुने कन्सर्टलाई पनि बम विस्फोटको धम्की आएको थियो । दुई दिनअघि प्राप्त इमेलमा नोभेम्बर २९ मा बेंगलुरुको मडावारास्थित नाइस ग्राउन्डमा हुने कन्सर्टका क्रममा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट गराउने चेतावनी दिइएको थियो ।

अमिताभ बच्चनको निवास ‘जलसा’लाई पनि यसअघि पटक–पटक धम्की प्राप्त हुँदै आएको छ । अक्टोबर २३ यता उनलाई यो पाँचौँ पटक धम्की आएको जनाइएको छ ।

यसै महिनाको नोभेम्बर १२ मा पनि मुम्बईका विभिन्न महत्वपूर्ण स्थानमा बम विस्फोट गराउने धम्कीपूर्ण इमेल आएको थियो । उक्त इमेलमा छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल, महालक्ष्मी स्टेडियम, मेयरको कार्यालय, अमिताभको निवास जलसा र पञ्जाब नेसनल बैंकको एक शाखालाई निशाना बनाउने उल्लेख थियो ।

लगातार प्राप्त भइरहेका धम्कीपछि भारतीय सुरक्षा निकायले मुम्बईसहित संवेदनशील क्षेत्र र सार्वजनिक कार्यक्रमस्थलको सुरक्षा सतर्कता बढाएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000