Logo
Logo

सभामुख र युएईका राजदूतबीच भेटवार्ता


252
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे र संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीबीच भेटवार्ता भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गरे ।

उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए ।

सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षाकालागी विशेष ध्यान दिन अपिल गरे । युएईमा मात्रै करिव ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

युएईका राजदूत अलसाम्सीले युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराए । उनले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको बताएका थिए ।

दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसदको भूमिका अपेक्षित रहेको बताउँदै अलसाम्सीले युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्