Logo
Logo

भिडियो गेमको व्यापारबाट ४४ अर्ब डलर


- दृष्टि न्युज/संवाददाता



सान फ्रान्सिस्को, ९ माघ (एएफपी) । ‘फोर्टनाइट’, ‘पोकेमोन गो’ समेतका लोकप्रिय भिडियो गेम उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।
इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ । ‘मोबाइलमा होस् वा घरका कम्प्युटरमा सबै उमेर समूहका उपभोक्ताले भर्चुअल खेल निकै मन पराएको पाइयो’, एनपीडीका विश्लेषक म्याट पिस्काटेल्लाले भनेका छन् ।
इएसए र एनपीडीका अनुसार अमेरिकामा भिडियो खेलका लागि आवश्यक विद्युतीय हार्डवेयरको बिक्रीमा पनि निकै सुधार आएको छ । अघिल्लो वर्ष करिब ६ दशमलब ५ अर्ब अमेरिकी डलरको हार्डवेयर बिक्री भएकामा गत वर्ष ७ दशमलब ५ अर्ब अमेरिकी डलरको सामान बिक्री भएको छ ।
गत वर्ष पश्चिमा मुलुकको काउब्वाई संस्कृति झल्कने भिडियो खेल ‘रेड डेड रिडेम्पसन–२’ को बिक्री सर्वाधिक भएको थियो । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘ब्याक अप्स ४’ र ‘कल अफ ड्युटी’ रहेका थिए । इएसएका कार्यबाहक अध्यक्ष स्टान्ले पियर–लुइसले अन्तरक्रियात्मक मनोरञ्जनयुक्त सामग्री अमेरिकी बजारमा खुबै लोकप्रिय भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्