Logo
Logo

कोरोना कहर : विश्वभर २ लाख ९२ हजारको मृत्यु, ४३ लाख ४३ हजारभन्दा बढी संक्रमित


जेनेभा/एजेन्सी


जेनेभा, ३१ बैशाख (एजेन्सी) । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ । हालसम्म १६ लाख ४ हजार ५६२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैँ सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, युरोपमा पछिल्लो तथ्यांकअनुसार १६ लाख ७६ हजार २४३ जना संक्रमित भएका छन् भने ६ लाख ८७ अजार २३२ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ लाख ५५ हजार ७८३ जनाले ज्यान गुमाएको छन् । यस्तै, उत्तर अमेरिकामा मात्र १५ लाख ४६ हजार ७३६ जना संक्रमित भएका छन् । जसमा ३ लाख ६९ हजार ४३८ जना निको भएका छन् भने ९३ हजार ५५४ जनाको मृत्यु भएको छ ।
यस्तै, एसियामा ७ लाख ३ हजार ६०९ जनामा संक्रमण देखिएको छ भने त्यसमा ३ लाख ९४ हजार ९१९ जना निको भइसकेका छन् । एसियामा हालमसम्म २२ हजार ८६५ जनाले ज्यान गुमाएका छन् । यस्तै, दक्षिण अमेरिकामा ३ लाख ३६ हजार ३७८ जना संक्रमित भएका छन् भने त्यसमा १ लाख १९ हजार ७३२ जना निको भएका छन् । यहाँ १८ हजार १७१ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी पछिल्लो तथ्यांकअनुसार अफ्रिकामा ७० हजार ९८४ जना संक्रमित भएका छन् भने त्यसमा २४ हजार ८२० जना निको भएका छन् । यस्तै कोरोनाबाट यहाँ २ हजार ४०७ जनाको मृत्यु भएको छ । यस्तै, अस्ट्रेलियामा ८ हजार ५८१ जना संक्रमितमध्ये ७ हजार ७७० जना निको भएका छन् भने यहाँ ११९ जनाको मृत्यु भएको छ ।
यस्तै, दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत प्रभावित बनेको छ । भारतमा बुधबारसम्ममा ७४ हजार ४८० जनालाई संक्रमण भएको भने २४ हजार ४५३ जना निको भएका छन् । भारतमा २ हजार ४१५ जनाको मृत्यु भएको छ ।
यस्तै, पाकिस्तानमा ३४ हजार ३३६ जना संक्रमित भएका छन् भने जसमध्ये ८ हजार ८१२ जना निको भएका छन् । यहाँ ७३७ जनाले ज्यान गुमाएका छन् । यस्तै, बंगलादेशमा पनि १६ हजार ६६० जना संक्रमित भएकामा ३ हजार १४७ जना निको भएका छन् । यहाँ २५० जनाको मृत्यु भएको छ ।
यस्तै, अफगानिस्तानमा ४ हजार ९६३ संक्रमित भएका छन् भने ६१० जना निको भएका छन् । यहाँ १२७ जनाको मृत्यु भएको छ । श्रीलंकामा ८८९ जना संक्रमित भएका छन् भने त्यसमध्ये ३६६ जना निको भइसकेका छन् । यहाँ ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा बुधबारसम्ममा ९०४ जनामा संक्रमण देखिएकोमा २९ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
नेपाल र भुटानमा भने बुधबारसम्म कोरोनाबाट कसैको ज्यान गएको छैन । नेपालमा यो समाचार बनाइरहँदासम्म २१९ जना संक्रमित देखिएका छन् । तीमध्य पनि ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यस्तै, भुटानमा ११ जना संक्रमित भएका छन् भने ५ जना निको भइसकेका छन् । ७ जना उपचारत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्