
बाँके । नेपालगन्जमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क बाइपास रोड नजिक भे६प ८०२ नं र ज३प ७१७१ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज–६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको हो । अर्का मोटरसाइकल चालक नेपालगन्ज–११ का १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएकामा चिकित्सकले कसौधनलाई गएराति नै मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।
अर्का घाइते शेखको मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको उनलाई थप उपचारका लागि भारतको लखनऊ पठाइएको प्रहरीले जनाएको छ ।














