Logo
Logo

पश्चिमा शक्तिहरु सरकारविरुद्ध लागेको भन्दै स्वीजरल्याण्डबाटै प्रधानमन्त्रीको आपत्ती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ माघ ।
केही पश्चिमा शक्तिहरु सरकारविरुद्ध लागेको भनेर चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा मुख खोलेका छन् । केही पश्चिमाहरु नेपालमा द्वन्द्व व्यवस्थापन नहोस् भनेर लागेको भन्दै उनले स्वीजरल्याण्डबाटै आपत्ती जनाएका छन् ।


युरोपेली युनियनलगायत पश्चिमा देशहरुले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर गरेको वक्तव्यबाजीप्रति उनले आपत्ति जनाएका छन् ।
नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘के नेपालमा द्वन्द्व व्यवस्थापन हुनु राम्रो होइन? अनावश्यक रुपमा विदेशी दूतावासहरुले गठजोड र गुटबन्दी गर्न जरूरि छैन। हिजो लडाइँ थियो। मारामार थियो । हामीले शान्ति प्रकृया अगाडि बढायौं। लडाकु व्यवस्थापन र्गयौं। हतियार व्यवस्थापन र्गयौं। शान्ति प्रकृयामा विदेशी मित्रहरुले सहयोग पो गर्नुपर्छ । कतै द्वन्द्व व्यवस्थापन होला भन्ने चिन्ता हो कि के हो?’

फ्रान्सबाट किनेका जहाजको प्रसंग र युरोपमा नेपाली जहाजलाई प्रवेश निषेध गरिएको सन्दर्भ झिक्दै व्यंगात्मक शैलीमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको विमानस्थलमा बस्न पनि सक्छ, उड्न पनि सक्छ भनेर मित्र राष्ट्र फ्रान्सले हामीलाई दुई वटा जहाज बेच्यो। अब त्यही जहाज फ्रान्समा आउन मिल्दैन भन्छ।’
नेपाल भन्दा कमजोर तथ्यांक भएको भारतको विमानले युरोपमा सहजै प्रवेश पाउने तर नेपाललाई प्रतिबन्ध लगाउने कुराको समाधान गर्न आफूहरुले पहल गरिरहेको पनि प्रधानमन्त्रीले बताए।

छिट्टै नै विमान सम्बन्धी समस्या समाधान हुने विश्वास अनुसार काम भैरहेको बताउँदै उनले भने, ‘सार्वभौम राष्ट्रको रुपमा सबै राष्ट्रहरु बराबरी छन् भन्ने मान्यताका आधारमा आफूहरुले बिना हिच्किचाहट सबै सरोकारवालाहरुसँग कुरा राखेको छु।’
पछिल्लोसमय द्वन्द्वकालिन मुद्दा उचाल्न पश्चिमी शक्तिहरु एकजुट भएका छन् । बिहीबार मात्र उनीहरुले संयुक्त बिज्ञप्ती निकालेर सरकारलाई दबाब दिएका थिए । सो समूहले डा गोविन्द केसीलाई समेत परिचालन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्