काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कुनै बेलका माओवादी हुन् । माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा उनले तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका थिए ।
तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल त्यसैको बलमा तीन पटक मन्त्री बने । एकपटक अर्थ र दुई पटक गृहमन्त्री बनेका थिए । बादल गणतान्त्रिक नेपालको पहिलो (पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको) सरकारमा रक्षामन्त्री थिए । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।

त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दुई पटक गृहमन्त्री बने । २०७४ मा ओली नेतृत्वको सरकारमा उनी पहिलो पटक गृहमन्त्री बनेका थिए । उनी त्यसबेला राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति सुरक्षाको नेतृत्व गर्न गृह मन्त्रालयको बागडोर सम्हाल्न पुगेका थिए ।
पछिल्लो पटक पार्टी एकता र वाम एकताका लागि नेता बादलले खेलेको भूमिकाका कारण पनि उनलाई ओली नेतृत्वको सरकारमा फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइयो । तर, २०७७ मा नेकपा फुटेसँगै बादलको यात्रा पनि मोडियो । उनी माओवादी छाडेर एमालेतिर लागे । त्यसबेला मन्त्रालयको लोभले एमालेतिर लागेको भनेर उनको आलोचना समेत भयो ।
जनयुद्धकलादेखि शान्ति प्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सहपाठी र सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको ‘इमानदार’ पात्रका रूपमा लिइन्थ्यो । विसं २०३१ मा रामपुर कृषि क्याम्पसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट भएपछि सुरु भएको सहकार्यले ४६ वर्षसम्म निरन्तरता पायो ।
मार्क्सवादी अध्ययन समूह बनाएर नेपाली कम्युनिस्ट आन्दोलनमा लागेका बादललाई माओवादी केन्द्रका नेता अमिक शेरचनले कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए । विसं २०४२ मा नेकपा(मशाल)को केन्द्रीय सदस्य बनेका बादल माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा एक मिथकीय पात्रका रूपमा परिचित थिए ।
अध्यक्ष प्रचण्डसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाए नेता थापा २०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित पार्टी एकतामा समाहित भएका थिए ।
विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमान्डरका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेका थिए । माओवादीमा रहँदा उनले ‘जनयुद्ध’लाई महान् ठान्थे ।
एमाले प्रवेश गर्नुअघि मात्रै उनले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाको ठूलो पाठशाला भएको दाबी गर्ने गरेका थिए । जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्ने उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्त्वपूर्ण योगदानलाई भुल्न नहुनेमा जोड दिने गरेका थिए ।
तर, अहिले तीनै बादल आफूसमेतले चलाएको जनयुद्ध एउटा हिंसा भएको बताउन थालेका छन् । बिहीबार पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने प्रश्नमा बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन, युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो ।’
१० वर्षे जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए । माओवादीले युद्ध सुरु गर्दा एमालेको तत्कालीन समर्थन नभएको बताउँदै उनले जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।
उनले भने, ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौँ । जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो ।’
सम्बन्धित समाचार














