काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो।
तर, तोकिएको साढे एक घण्टा बितिसक्दासम्म पनि बैठक सुरु भएको छैन। सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेको बुझिएको छ। उनको सचिवालयले बैठक केहीबेरमा सुरु हुने जानकारी दिएको छ ।

संसद्मा दलहरू अध्यादेशको पक्ष र विपक्षमा छन् । विपक्षी दलहरू असफल बनाउने प्रयासमा छन् भने सत्तारुढ दलहरूले राष्ट्रियसभाबाट पारित गराउन उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ खोजिरहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै, गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रियसभा बैठक भने अहिले जारी रहेको छ ।














