Logo
Logo

जसपा नेपालले राष्ट्रियसभामा अड्कायो अध्यादेश


3.3k
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक दिँउसो सवा १ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, मन्त्री गुरूङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । तर, आजको बैठकमा पनि अध्यादेश पेश गर्ने कार्यसूचीमा छैन ।

अध्यादेश पारित गर्न राष्ट्रियसभामा सत्ता पक्षसँग बहुमत छैन । राष्ट्रियसभाबाट अध्यादेश पारित हुन उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) नेपालको निर्णायक भूमिका देखिन्छ । तर, जसपा नेपालले अध्यादेशबारे निर्णय नगर्दा राष्ट्रियसभाका अध्यादेश अड्किएको हो ।

अध्यादेश पारित गर्न आफ्नो निर्णायक भूमिका रहने भएपछि जसपा नेपालले सत्तासँग बार्गेनिङ गरिरहेका छन् । अध्यादेशमा सहमति जनाउन जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारका एक मन्त्री पाउनुपर्ने दावी गरेका छन् । यस विषयमा उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग समेत छलफल गरिसकेका छन् । तर, ती भेट र छलफलबाट ठोस निर्णय भइनसकेकाले राष्ट्रियसभामा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको बताइएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा हालै राष्ट्रपतिले विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । ती अध्यादेश पारित हुन जसपा नेपाल राष्ट्रिसभामा निर्णायक भूमिकामा छ ।

प्रतिक्रिया दिनुहोस्