
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्लामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एइक जनाको मृत्यु भएको छ । भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेको तीर्थयात्री सवार बा३ख ८९२३ नम्बरको बस गएराति सातकिल्लामा दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई सडकछेउमा पल्टिँदा घाइते भएकी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको उपचारका क्रममा काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास हमालले जानकारी दिए ।
घाइतेमध्ये प्रहरी अस्पतालमा ९, राष्ट्रिय ट्रमा सेन्टरमा ८, बाँसबारीस्थित न्युरो अस्पतालमा ५ र धादिङको साइबाबा अस्पतालमा १ घाइतेको उपचार भइरहेको छ ।














