Logo
Logo

गुठीको जग्गामा नेता र व्यापारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । भूमिसुधार मन्त्री पद्यमा अर्यालले आइतबार कानुन नहुँुदा गुठीका जग्गा जोगाउन गाह्रो भएको बताइन् । सायद भूमाफिया समूहको चलखेल र दबाब थाहा पाएर उनले यस्तो बताएको हुनसक्छ ।

किनकि, अहिले पनि विभिन्न समूहहरु गुठीको जग्गा हात पार्ने योजनामा सक्रिय छन् । बालुवाटारको आडमा व्यवसायी दीपक मल्होत्राको समेत यस्तो धन्दामा सक्रिय रहेको खुलेको छ । मोहीका नाममा जग्गा व्यक्तिको नाममा लैजाने धन्दामा उनले आर्थिक लगानी गर्दै आएका छन् ।

अहिले पनि बानेश्वरको २ रोपनी १२ आना जग्गा नक्कली मोही खडा गरी मल्होत्रा लगायतको समूहले लिने प्रयास गरिरहेको छ । गुठी संस्थानकै विगतका निर्णय मिचेर जग्गा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।

गुठीको कुनै जग्गामा २०४६ सालभन्दा पहिल कसैले घर बनाएको अवस्थामा आठ आनासम्म दर्ता गर्न सकिने व्यवस्था गुठी संस्थान ऐनमा उल्लेख छ । त्यही दफाको दुरुपयोग गरी नक्कली मोही खडा गरी गुठीको जग्गा धमाधम व्यक्तिको नाममा दर्ताको लागि चलखेल भइरहेको हो ।

गुठी संस्थानको सञ्चालक समितिले २०६२ साल मंसिर ७ गते थोरै मात्र जग्गा दर्ता गर्न सकिने उल्लेख थियो । गुठी संस्थानको जग्गामा कसैले घर बनाएको अवस्थामा रहेमा काठमाडौं उपत्यकाका नगरपालिकाभित्र ८ आनासम्म र गाविसमा एक रोपनीसम्म जग्गा दर्ता गर्न सकिने निर्णय भएको थियो । तराईका नगरपालिकाका एक कठ्ठा, गाविसमा दुई कठ्ठा पहाडको हकमा नगरपालिकामा एक रोपनी र गाविसमा दुई रोपनी जग्गा दर्ता गर्न सकिने निर्णय गरियो ।

आठ आनासम्म मात्र दर्ता गर्न सकिने भएपछि दुई रोपनी १२ आना जग्गा सूर्य मालीको नाममा दर्ता गर्न लागिएको छ । उनको नामबाट गुठी संस्थानमा निवेदन दिइसकिएको छ । उनको नाममा जग्गा दर्ता गरी साढे दुई करोडमा किन्न लागिएको छ । राप्रपा नेता तारा लुईटेलले यसको सेटिङको जिम्मा लिएका छन् । गुठीका अधिकांश सञ्चालक तथा बोर्ड सदस्यलाई उनले हातमा लिइसकेको स्रोत बताउँछ । त्यसवपात सूर्य मालीको श्रीमतीको नाममा ललितपुरको ग्वार्काेमा उनीहरुले घर खरिद गरिदिएका छन् ।

उपत्यका लगायत विभिन्न ठाउँको बहुमुल्य जग्गा पनि यसैगरी नक्कली मोही खडा गरी उनीहरुको नाममा दर्ता गराउने धन्दा चलिरहेको छ । यसमा नेकपाकै कतिपय नेताहरु समेत सक्रिय छन् । बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गाको सेटिङसमेत मल्होत्राले गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्