Logo
Logo

नेपाल प्रहरीको तीन दिवसीय गोष्ठी समापन


882
Shares

काठमाडौं । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवं सुधारका लागि आवश्यक पक्षहरू समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको बताए ।

साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुनुपर्नेमा उनले जोड दिए ।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताए ।

नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उनले व्यक्त गरे ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोजकुमार केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले गोष्ठीको सारसंक्षेप एवं आगामी वर्षको तालिम योजनासहितको प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, प्रहरी जवान तथा प्रहरी हवल्दारहरूको तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

गोष्ठीको समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्