Logo
Logo

लकडाउनमा चार केजी तौल घटाएँ – रञ्जु सुनाम, मोडल


- दृष्टि न्युज/संवाददाता


मोडल रञ्जु सुनाम एक दशकयता मोडलिङमा सक्रिय छिन् । उनीमा ‘मिहिनेत र संघर्षले एक दिन सफलता हासिल गर्न सिकन्छ’ भन्ने विश्वास छ । भारतको सिलगुढीमा जन्मिएर सर्लाहीमा हुर्केकी रञ्जुले ‘मिस तराई’मा ‘पार्टिसिपेन्ट’ भएर ‘मिस कल्चर’ उपाधि पाएपछि मोडलिङ ‘करिअर’ शुरु गरेकी हुन् । तर, मोडलिङ क्षेत्रमा संघर्ष गरेअनुसार आफूले सफलता नपाएको उनको भनाइ छ । ढेड दर्जनभन्दा बढी म्युजिक भिडियो, पेपर एड र विज्ञापनहरु मोडलिङ गर्दै आएकी रञ्जुले भनिन्, ‘यहाँ हरेक क्षेत्रमा नातावाद व्याप्त छ, यस्तै कलाकारितामा पनि । यो क्षेत्रमा मेरो कोही छैन ।’ पछिल्लो समय कलाकारिता क्षेत्रमा ‘परिवारवाद’ र ‘नातावाद’को बहस भइरहेका बेला रञ्जुले पनि यस्तै अनुभव गरेकी हुन् । तर, उनीमा ढृडता र संकल्प छ, ‘आफ्नै मिहिनेत र संघर्षले सफलता पाउनेछु ।’ ‘होमवर्क’, ‘आवेग’ र ‘कसैलाई नभन्नु’जस्ता फिल्ममा समेत अभिनय गरेकी मोडल रञ्जु सुनामसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

खास केही गरेकी छैन । कोरोनाभाइरसका कारण लकडाउन भएपछि घरमै बसियो । मोडलिङको काम सुरु भएको छैन । अब सामान्य अवस्था नआएसम्म यस्तै हो ।

लकडाउनको सदुपयोग त गर्नुभयो होला ?

सुरु–सुरुमा त त्यतिकै बसेँ । रमाइलो पनि भयो । तर, लकडाउन लम्बिएपछि यु–ट्युब हेर्दै खाना बनाउन सिकेँ । लकडाउन हुनअघि जिम जान्थेँ । तर, लकडाउनले जिम हल बन्द भएपछि घरमै योगा गर्न थालेँ । म दैनिक घरमै योगा गर्छु ।

लकडाउनको सदुपयोग त राम्रै भएछ नि ?

गर्नु परिहाल्यो नि । बाहिर जाउँ सबैतिर बन्द । मलाई त लकडाउनले फाइदै गरेको छ । अरु लकडाउनमा बस्दै खाएर मोटाएँ भनेको सुन्छु । तर, मैलेचाहिँ चार केजी वजन घटाएँ ।

मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?

मिहिनेत गरिरहेकी छु । तर, अगाडि बढ्न सकेकी छैन । हरेक क्षेत्रमा अगाडि बढ्न आफ्नो मान्छे हुनुपर्ने रहेछ । यो क्षेत्रमा मेरो कोही छैन । तर, हार खाएकी पनि छैन । मिहिनेतको प्रतिफल एक दिन कसो नमिल्ला र ।

मोडलिङमा ‘नातावाद’ र ‘कृपावाद’ व्याप्त छ है ?

खै के भन्ने ? कामको कुरा हुन्छ, मिटिङ हुन्छ तर, काम अर्कोलाई दिइन्छ । यसलाई नातावाद भन्ने कि के भन्ने ? मैले बुझेकी छैन । तर, आफ्नोपन चाहिँ हुनुपर्ने रहेछ ।

कुरा गर्ने, कामचाहिँ अर्कैलाई दिने भनेपछि केही रहस्य होला नि ?

सिधै भनेको हुँदैन, कसरी बुझ्ने । हुन पनि सक्छ । तर, मैले चाहिँ अहिलेसम्म काम पाउनका लागि सम्झौता गर्नु परेको छैन । र, गर्न नपरोस् पनि । कसैले मोडलिङको प्रस्ताव राखेर आयो भने गर्ने हो ।

तपाइँलाई अगाडि बढ्न केले रोक्यो ?

काम गरेकै छु । सायद मिडियासँग नजिक नभएर होला । अर्को कुरा मलाई काम देउ भनेर खोज्दै जान्नँ । मुख्य कुरा मिडिया अपडेट नभएर पनि हो । मलाई भाइरल बन्न मन लाग्दैन । कला, प्रतिभा र कामले चिनुन् भन्ने मेरो मान्यता हो ।

मोडलिङमा लागेर खुसी हुनुहुन्छ ?

धेरै खुसी र थोरै आत्मग्लानी । बेला–बेला मोडलिङको विषयमा नराम्रो समाचारहरु आएको सुन्दा र पढ्दा बेकारमा यो क्षेत्र रोजेछु जस्तो लाग्छ । तर, सबैजना उस्तै हुँदैन भनेर चित्त बुझाउँछु ।

फेमिली सपोर्ट छ कि छैन ?

मेरो फेमिलीबाट पूर्ण सहयोग छ । सपोर्ट नपाएको भए आज म यो यहाँ हुने नै थिइनँ । मेरो लागि फेमिली सबैथोक हो ।

जीवन चलाउन घरजम गर्नुप¥यो, के सोच्दै हुनुहुन्छ ?

दुई÷तीन वर्षपछि गर्नुपर्ला भनेर सोच्दैछु । घरबाट पनि दवाव आउन थालेको छ । तर, केही वर्षमा गर्छु भनेर टार्दै आएकी छु । घरजम गर्नुभन्दा अगाडि मोडलिङमै केही गर्ने सोच छ ।

प्रतिक्रिया दिनुहोस्