काठमाडाैं । नेपाली सेनाको प्रि-डिप्लोयमेन्ट तालिम समापन गरिएको छ । उक्त समापन कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको सान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन् । अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

उनले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् । ‘आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु,’ राष्ट्रपति पौडेलले भने ।
नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा भाग लिँदै अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।
उक्त अवसरमा राष्ट्रपति कार्यालयका विज्ञहरू, सचिव, बलाधिकृत रथी, रथीबृन्द, जिल्ला सुरक्षा समिति काभ्रेका प्रमुखहरू, अधिकृत लगायत सकलदर्जाको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा हाल नेपाली सेनाबाट महिला ५९९ सहित कूल ५९०९ जना शान्ति सैनिकहरू विभिन्न शान्ति मिसनहरूमा खटिएका छन् ।
शान्ति स्थापनार्थ फौज खटाउने राष्ट्रहरू मध्ये नेपाल प्रथम स्थानमा रहेको छ भने महिला सहभागिता तर्फसमेत प्रथम स्थानमा रहेको छ । हालसम्म नेपाली सेनाबाट १ लाख ५८ हजार १९४ जना शान्ति सैनिकको रुपमा विभिन्न मिसनहरूमा खटिई सकेका छन् ।











