काठमाडौं । गायिका गीता पाण्डे र गायक मनीष चौधरीको स्वरमा सजिएको नयाँ प्रेम गीत ‘ए तनु’ सार्वजनिक गरिएको छ। गीतका शब्द तथा सङ्गीत सर्जक मनोज चौलागाई हुन्, जसमा सङ्गीत संयोजन पनि उनकै रहेको छ ।

गायिका गीता पाण्डेले लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय रहे पनि भाइरल गीत गाउन इच्छुक नहुँदा मुख्यधाराको चर्चामा खासै देखिन सकेकी छैनन् । २०७४ सालमा एल्बम ‘यात्रा’ मार्फत औपचारिक साङ्गीतिक यात्रा सुरु गरेकी गीताले हालसम्म तीन दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेकी छन् ।
रचनाकार चौलागाईका यसअघि पनि दस वटा गीत सार्वजनिक भइसकेका छन्, जसमा केही आधुनिक र फिल्मी शैलीका गीतहरू दर्शकबिच लोकप्रिय बनेका थिए ।
‘ए तनु’ गीत प्रेम प्रतीकको सम्झनामा लेखिएको हो, जसको म्यूजिक भिडियोमा मोडल रोजेन सुन्दास र मिशेल घिमिरे फिचर्ड छन् । भिडियोमा एक प्रेम जोडीको रोमाञ्चक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
गीतको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् भने छायाङ्कन उमेश शाहले गरेका छन् । भिडियोको सम्पादन बिकास धमलाले गरेका छन् ।











