काठमाडौं । पाकिस्तानले जमिनबाट जमिनमा प्रहार गर्ने ‘अब्दाली’ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आइएसपिआर)का अनुसार, उक्त परीक्षण सैनिकहरूको तयारी सुनिश्चित गर्नुका साथै क्षेप्यास्त्रको प्राविधिक पक्षहरूको परीक्षण गर्नका लागि गरिएको हो ।

४५० किलोमिटर दायरा भित्रको लक्ष्यमा प्रहार गर्न सक्ने अब्दाली क्षेप्यास्त्र अत्याधुनिक नेभिगेसन प्रणालीले सुसज्जित रहेको बताइएको छ ।
परीक्षणमा सहभागी भएका सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरिफ र सेना प्रमुखले बधाई दिएका छन् ।
यो परीक्षण त्यति बेला सार्वजनिक गरिएको हो, जब जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ ।
दुवै देशका नेताहरूले एकअर्काप्रति कडा चेतावनी दिने अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्, जसले क्षेत्रीय सुरक्षामा थप तनाव सिर्जना गरेको देखिन्छ ।










