काठमाडौं । नेपाल प्रहरीमा पहिलोपटक ‘लिडरसिप एन्ड स्टाफ कोर्स’ सुरु भएको छ । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले पहिलो ब्याचमा सहभागी हुने कार्यक्रमको उद्घाटन गरेका छन् ।

स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिएपनि प्रवेश परीक्षामा १७ जना डीएसपीमात्रै उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो ।
प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने छ । स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्ने छ । कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाउनेछन् ।
प्रस्तावित विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन् । एसपी र एसएसपीमा पनि स्टाफ कलेज गरेका र नगरेकाकाका लागि छुट्टै कोटा तोकिएका छन् ।
स्टाफ कलेज गरेका ६० प्रतिशत र नगरेका ४० प्रतिशत डीएसपी एसपीमा बढुवा हुनेछन् भने एसपीबाट एसएसपीमा बढुवा हुँदा स्टाफ कलेज नगर्नेका लागि २० प्रतिशत मात्रै कोटा हुने भएको छ ।
स्टाफ कलेजको प्रवेश परीक्षा तीन पटकसम्म दिन पाइने छ । तर, तीन पटकमा पनि पास हुन नसक्नेहरू अयोग्य मानिनेछन् । स्टाफ कलेजको सुरुवात गर्न लागेपछि २० जना डीएसपीले कोर्स बदर गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतले स्टाफ कलेज अध्ययन गराउने प्रहरीको तयारीमा रोक नलगाएपछि परीक्षा अगाडि बढेको हो ।











