एजेन्सी । चीनले ‘तियानवेन–२’ नामक अन्तरिक्षयान पर्सि बिहीवार प्रक्षेपण गर्ने घोषणा गरेको छ । यो यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्रग्रह तथा ग्रहहरूबीच रहेको एउटा अनौठो पुच्छ्रेताराको अध्ययन तथा नमूना सङ्कलन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘२०१६ एच ओ ३’ नामक क्षुद्रग्रह सन् २०१३ मा हवाई टापुमा रहेको एउटा तारादर्शक यन्त्रले पत्ता लगाएको थियो । ‘तियानवेन–२’ चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिसन हो जसले पृथ्वी नजिकको क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने र ग्रहपथको पुच्छ्रेताराको अध्ययन गर्ने उद्देश्य राखेको छ ।
क्षुद्रग्रहहरूमा अत्यन्त पुराना र जस्ताको तस्तै रहेका तत्त्वहरू हुने भएकाले ती सौर्यमण्डलको शुरुआती अवस्था बुझ्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । वैज्ञानिकहरूले यस्ता नमूनाहरूको प्रयोग गरेर पृथ्वी, चन्द्रमा, ग्रह र अन्य आकाशीय पिण्डहरूको उत्पत्ति, विकास र रासायनिक संरचना बुझ्ने प्रयास गर्छन् ।
यस्ता अध्ययनले भविष्यमा पृथ्वीमा ठोक्किन सक्ने सम्भावित खतराहरूको पहिचान तथा अन्तरिक्षमा खनिज खोज्ने सम्भावनालाई समेत सहयोग पुग्ने खबरमा उल्लेख छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार ‘तियानवेन–२’ यानले यसअघि सबै पूर्वनिर्धारित प्रक्रिया जडान, परीक्षण, इन्धन भर्ने कार्य, स्थान परिवर्तन, कार्यसामर्थ्य जाँच र संयुक्त परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।










