Logo
Logo

इस्तानबुलमा युक्रेन र रुसबीच शान्ति वार्ता सुरु 


504
Shares

काठमाडौं । युक्रेन र रुसबीच तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले टर्कीको इस्तानबुलमा शान्ति वार्ता सुरु भएको छ । दुवै देशले ड्रोन आक्रमणलाई निरन्तरता दिइरहे पनि शान्तिका लागि वार्तामा सहभागी भएका छन् । वार्ता ऐतिहासिक सिरागन प्यालेसमा स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टर्कीको बोस्फोरस किनारमा अवस्थित ओटोमनकालीन संरचनाभित्र रहेको यो पाँचतारे होटलमा आयोजित वार्तामा टर्कीका विदेशमन्त्री हकान फिदानले मध्यस्थताको भूमिका निर्वाह गरिरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताअघि नेटोको भिल्नियस शिखर सम्मेलनलाई सम्बोधन गर्दै शान्तिका लागि आवश्यक कदम चाल्न तयार रहेको बताएका थिए । उनले भने, “हामी शान्तिको पक्षमा छौँ र द्वन्द्व अन्त्यका लागि जिम्मेवार कदम चाल्न प्रतिबद्ध छौँ ।”

युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गरिरहेका छन् भने रुसी पक्षबाट पूर्व वार्ताकार तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी भ्लादिमिर मेदिन्स्की सहभागी छन् । वार्तामा बेलायत, जर्मनी र इटालीका अधिकारीहरूसँग पनि छलफल भइरहेको बताइएको छ ।

गत महिना इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा ठुलो सङ्ख्यामा कैदी आदान–प्रदान भएको थियो, तर द्वन्द्व अन्त्यको ठोस प्रगति भने भएको थिएन। यसपटक दुवै पक्षले युद्धविराम र शान्ति स्थापनाका लागि गहन छलफल गर्ने अपेक्षा गरिएको छ ।

टर्कीले यसअघि पनि युक्रेन–रुस द्वन्द्वमा मध्यस्थताको भूमिका खेल्दै आएको छ। यो वार्ताले युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्