
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्डले आज पनि विपक्षी दलहरुको बैठक बोलाएका छन् । संसद्को बैठक बस्नुअघि प्रचण्डले संसद्को जारी गतिरोध अन्त्यका लागि विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएर जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेका छन् ।
सो प्रकरणमा सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबी साझा धारणा बनाउन संसद बस्नअुघि विपक्षीहरूको बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले स्पष्ट पारे । ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ,’ उनले भने, ‘त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला ।’
हिजो (बिहीबार) माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो । तर सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेगरी बोलाइएको छ ।














