काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच निरन्तर र प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।

मन्त्री लेखकले सुरक्षा निकायले स्रोत र साधनको अभावमा पनि ठुलो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सरकारले यसतर्फ पर्याप्त ध्यान दिइरहेको र आगामी आर्थिक वर्षको बजेटमा प्रहरीका लागि उल्लेखनीय वृद्धि गरिएको जानकारी दिए ।
उनले अपराधमा विज्ञान र प्रविधिको दुरुपयोग बढिरहेकाले अनुसन्धान र अभियोजनमा पनि प्रविधिको सही र अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । “विज्ञान र प्रविधिको प्रयोगले अनुसन्धानलाई स्वच्छ, स्वस्थ र विश्वसनीय बनाउन सकिन्छ,” उनले भने, “तर प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउनुपर्छ ताकि न्याय प्रक्रियालाई सहयोग पुगोस् ।”
फौजदारी न्यायको केन्द्रमा पीडित रहने उल्लेख गर्दै मन्त्री लेखकले पीडितलाई न्यायको अनुभूति गराउनु मुख्य उद्देश्य भएको बताए । “कुनै अपराधबाट पीडित भएकाले न्याय प्राप्त भएको अनुभव गर्न सक्यो कि सकेन, त्यो नै फौजदारी न्यायको मूल लक्ष्य हो,” उनले भने, “यसका लागि मेहनत, बुद्धि र विवेकको प्रयोग गरी काम गर्न जरुरी छ ।”














