
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्तारुढ दलहरुको बैठक जारी छ । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक (बजेट) पास गर्नुअघि आज बालुवाटारमा सत्ता पक्षीय दलहरुको बैठक बसेको हो ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । तर बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन ।
सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन् । अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन् । संसद बस्नुअघि सोही विषयमा सहमति जुटाउने प्रयास भइरहेको बुझिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ लगायत सहभागी छन् ।














