Logo
Logo

‘प्रधानमन्त्रीले स्पेनमा मान्छे छाडेको’ विषयले हंगमा !


3k
Shares


काठमाडौं । रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्रीले स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिलाई उतै छाडेर आएको भन्ने अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ

मंगलबार संसद सुरु हुनेबित्तिकै रास्वपाको तर्फबाट गौतमले भिजिट भिसा प्रकरणको बारेमा आवाज उठाउँदै त्यस्तै घटना हालसालै प्रधानमन्त्री स्पेन भ्रमणमा जाँदासमेत भएको बताएकी थिइन् ।

उनले भनेकी थिइन्– ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’

यो अभिव्यक्तिपछि एमालेले आपत्ति जनाएको हो । उक्त अभिव्यक्ति पत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन माग एमाले प्रमुख सचेतक महेश बर्तौलाले गौतमले माग गरेका छन् ।

उनले भने, ‘केही मान्य ज्यूले, भ्रामक आपत्तिजनक र तथ्यहीन कुरालाई संसदमा राख्नुभएको छ। बोल्न पाउने अधिकारलाई दुरुपयोग गर्दै प्रधानमन्त्री स्पेनमा आयोजित राष्ट्रसंघका कार्यक्रमबाट फर्किनुभएको छ। केही मान्छे स्पेनमै बसेका छन्, फर्किएका छैनन् भनेर प्रधानमन्त्रीज्यूलाई मुछेर निराधार कपोकल्पित, भ्रामक कुरा जिम्मेवार सांसदले गरिमामय संसद्‌मा गर्ने कुरा बेठिक छ।’

बर्तौलाले अभिव्यक्ति दिने गौतमलाई भ्रमण टोलीमा रहेका को–को व्यक्ति नफर्किएका हुन् त्यसबारे पनि संसद्‌लाई जानकारी गराउन माग गरे।

‘यस्ता कुरालाई सभामुखले गम्भीरतापूर्वक नोटिसमा लिनुपर्छ। यस्ता तथ्यहीन भ्रमपूर्ण विषयलाई संसद्को रेकर्ड हटाइनुपर्छ। प्रधानमन्त्रीसँग गएर नर्फिएका को–को हुन्, माननीयज्यूले संसदलाई जानकारी दिनुपर्छ,’ बर्तौलाले भने।

प्रधानमन्त्री आफैले संसद्‌मा आएर भ्रमण र त्यसमा रहेका टोलीबारे जानकारी गराइसकेको अवस्थामा विवादित बनाउने कुरा आपत्तिजनक भएको बताए ।

प्रधानमन्त्रीमाथि लगाएको आरोपको बर्तौलाले खण्डन गरेपछि प्रमुख प्रतिपक्षी माओवादीले आपत्ति जनाएको छ। सरकारलाई सोधिएको प्रश्नमा सत्ता पक्षका सांसद्‌ले जवाफ दिने कुरा मान्य नहुने माओवादी सचेतक हितराज पाण्डे भनाइ छ।

‘सदन विभिन्न विषय उठ्छन्। हामीले सरकारसँग जवाफ खोज्छौँ। सरकारले जवाफ दिने हो। सांसदहरुले जवाफ दिने होइन्,’ बर्तौलाको प्रतिवाद गर्दै पाण्डेले अगाडि भने, ‘सरकारले मन्त्रीले, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। यो संसद्‌लाई हेपिएको छ। हिजो पनि त्यस्तै भयो।’

संसद्‌मा सत्ता र प्रतिपक्षका सांसद विवादमा उत्रेपछि सभामुख देवराज घिमिरेले जिम्मेवार भएर अभिव्यक्ति दिन आग्रह गरे। उनले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरे।

प्रधानमन्त्रीको सचिवालयको प्रतिवाद
स्पेन भ्रमणका गएकाहरू नफर्किएको समाचार आएको विषयमा रास्वपा सांसद सोबिता गौतमले प्रतिनिधिसभा बैठकमा उठाएको विषयलाई प्रधानमन्त्रीको सचिवालयले प्रतिवाद गरेको छ । प्रधानमन्त्रीको सचिवालयले भने कोको नफर्किएको हो ? भन्ने देखाइदिन आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गएको थियो ।

ओली असार १६ गतेदेखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना गरेको विकास वित्तसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्