काठमाडौं । नेपाल जन–प्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको ‘हेमबहादुर मल्ल सम्मान’ यस वर्ष पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ ।

काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई नगद दुई लाख रुपैयाँसहितको अभिनन्दनपत्र प्रदान गर्दै सम्मानित गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले ४२ वर्षदेखि कल्याण श्रेष्ठसँगको चिनजान स्मरण गर्दै, श्रेष्ठको न्यायिक योगदानलाई ‘स्वतन्त्र न्यायपालिकाका गौरवशाली स्तम्भ’ का रूपमा रहेको बताए । उनले सेवानिवृत्त भएपनि पूर्व प्रशासकहरूको अनुभव, विज्ञता र विवेक राष्ट्रका लागि अमूल्य पूँजी रहेको बताउँदै विश्वास संकटको वर्तमान अवस्थामा जिम्मेवार व्यक्तित्वहरूले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्मान ग्रहणपछि पूर्व प्रधानन्यायाधीश श्रेष्ठले आफूलाई दिइएको सम्मानप्रति आभार व्यक्त गर्दै उनले समाजमा व्याप्त नकारात्मकता हटाउन सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्नुपर्नेमा जोड बताए । स्वर्गीय हेमबहादुर मल्लजस्ता रोल मोडलहरूको खोजी गर्नु आजको आवश्यकता भएको बताउँदै उनले सुशासन कायम गर्नका लागि नेतृत्वदायी पद्धति र पात्रबीचको समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘लोकका लागि जीवन अर्पण गर्नेहरूलाई सम्झना र सम्मान गर्नु प्रेरणादायी काम हो ।’ संस्थागत कमजोरी र शासनप्रणालीको अव्यवस्थाले जनतामा निराशा पैदा गरेको उल्लेख गर्दै, ‘देशलाई हाँक्ने खालको नेता खोजिरहेछु,’ भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वप्रति व्यङ्ग्य पनि गरे ।
सम्मान छनोट समितिका अध्यक्ष उमेश प्रसाद मैनालीले प्रक्रियागत रूपमा निर्धारित कार्यविधिअनुसार विभिन्न चरण पार गरेर उत्कृष्ट व्यक्तित्वको चयन गरिएको बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले ‘हेमबहादुर मल्ल सम्मान’को गरिमा र प्रभावलाई स्मरण गर्दै, न्यायिक क्षेत्रमा कल्याण श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए । उनका अनुसार नेतृत्व क्षमताका विभिन्न सात सूचकका आधारमा अन्तिम पाँच उम्मेदवारमध्येबाट श्रेष्ठलाई सम्मानका लागि छनोट गरिएको हो ।
कार्यक्रममा नेपाल जन–प्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक प्रशासन, न्यायिक नेतृत्व र संस्थागत विकासमा श्रेष्ठको विशिष्ट योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको बताए ।
श्रेष्ठको छनोट लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले गरेको हो । समितिमा नेपाल जन–प्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्व सहसचिव जीवराज कोईराला तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्यका रूपमा सहभागी थिए ।
कल्याण श्रेष्ठले कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा हासिल गरी जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म न्यायिक सेवा प्रदा गरेका थिए । उनी नेपालका २५औँ प्रधानन्यायाधीश हुन् । द्वन्द्वपछिको संक्रमणकाल, बृहत् शान्ति सम्झौता तथा संविधानसभाको निर्वाचनजस्ता ऐतिहासिक घटनाक्रममा उनको न्यायिक नेतृत्व विशिष्ट मानिन्छ । सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरणीय न्यायलगायत विषयमा उनले प्रस्तुत गरेका विचार, अडान र ऐतिहासिक फैसलाहरूको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो ।
वि.सं. २०५७ सालदेखि हरेक वर्ष प्रदान हुँदै आएको यो सम्मान २१औँ पटक प्रदान गरिएको हो । यसअघि केदारभक्त माथेमा, डा. भगवान कोईराला, महावीर पुन, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. देवेन्द्रराज पाण्डे, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधानलगायत विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसकेका छन् ।
यो सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संस्थापक प्रमुख तथा ख्यातिप्राप्त प्रशासक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो । मल्लले सार्वजनिक सेवा वितरण र व्यवस्थापनमा पु¥याएको योगदानको कदर गर्दै वि।सं। २०५७ मा उक्त सम्मान स्थापना गरिएको हो ।
नेपाल जन–प्रशासन सङ्घ वि. सं. २०४७ सालमा सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवामा कार्यरत प्रशासक र प्राज्ञिकहरूबीच समन्वय, ज्ञान आदान–प्रदान र नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको पेशागत सङ्घ हो ।











