जनकपूरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको चरम अभावका बीच प्रदेश सरकारको उदासीनताप्रति सत्तारुढ नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले कडा आपत्ति जनाएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा बोल्दै सांसद सिंहले सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी नभएको भन्दै आलोचना गरे । उनले भने, ‘मधेशमा पानीको हाहाकार छ । पर्साको वीरगन्ज र बाराका गाउँहरूमा जनता पानीको अभावमा तड्पिरहेका छन् । सरकारले केही दिनअघि सुख्खाग्रस्त क्षेत्र घोषणा त गर्यो, तर कागजी घोषणाले जनताले पानी पाउँछन् ? किसानका खेतमा सिँचाइ हुन्छ, सभामुख महोदय ?’
सांसद सिंहले सुख्खाग्रस्त क्षेत्र घोषणाको चार दिन बितिसक्दा पनि सरकारले कुनै ठोस कार्यक्रम नल्याएकोमा आक्रोश व्यक्त गरे । उनले सभामुखमार्फत मुख्यमन्त्री सतीश कुमार सिंहको ध्यानाकर्षण गराउँदै कृषि र खानेपानीको समस्यालाई तत्काल सम्बोधन गर्न प्रभावकारी कार्यक्रम ल्याउन माग गरे। ‘तराई–मधेशमा पानीको सङ्कट हुँदा पनि सरकार किन मौन छ ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए ।











