जनकपुरधाम । मधेश प्रदेशसभाले विपक्षी दलका सांसदहरूको अनुपस्थितिमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरेको छ । विपक्षी दलहरूको बहिष्कारका बाबजुद ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट बहुमतले पारित भएको हो ।

विगत ६ दिनदेखि विपक्षी दलका सांसदहरूले निरन्तर विरोध र संसद् अवरुद्ध गर्दै आएका थिए । सभामुख रामचन्द्र मण्डलले सत्ता र विपक्षी दलबीच सहमति कायम गर्न पटक–पटक प्रयास गरे पनि सफलता प्राप्त नभएपछि फास्टट्र्याकबाट विनियोजन विधेयक पारित गरिएको छ ।
प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिष्कार गरेका थिए । यसअघि विपक्षी दलहरूको अनुपस्थितिमा बजेटमाथि छलफल भएको थियो ।
सत्तारुढ दलका केही सांसदहरूले समेत सरकारको बजेटमाथि प्रश्न उठाएका थिए । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक, सांसदहरूलाई वितरण गरिएको रेडबुक र सूचना प्रणालीमा राखिएको रेडबुकमा भिन्नता देखिएको छ । संसद्मा प्रस्तुत र सांसदहरूलाई वितरण गरिएको रेडबुक ४६१ पृष्ठको छ, जबकि सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक उपलब्ध छ ।











