
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
शनिबार सम्पन्न परीक्षाको नतिजा महानगरले आज सार्वजनिक गरेको हो । परीक्षामा सहभागी १४ हजार १७३ जना विद्यार्थी मध्ये १० हजार ८६७ जना उत्रिर्ण भएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार उत्तीर्ण परीक्षार्थीमध्ये ४ हजार ४९९ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान रहेको छ ।
यस परीक्षामा शिक्षा संकायमा २५ वटा कोटा रहेकोमा ९ जाना छात्रा र १० जना छात्र गरी १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
मानविकी संकायमा ११९ कोटा रहेकोमा ४ छात्रा र २ छात्र ६ जना उत्तीर्ण हुँदा कानुनमा १०५ जनाको कोटा रहेकोमा ७३ छात्रा र ६२ छात्र गरी १३५ जना उत्तीर्ण भएका छन् ।
व्यवस्थापनमा २ हजार ३१९ जनाको कोटा रहेकोमा ६९० छात्रा र १ हजार २६७ छात्र गरी १ हजार ९५७ जना उत्तीर्ण भएका छन्।
विज्ञानमा १ हजार ९३१ जनाको कोटा रहेकोमा ८ हजार ७५० जना उत्तीर्ण भएका छन्। विज्ञातर्फ उत्तीर्णमध्ये ३ हजार २८८ छात्रा, ५ हजार ४६० छात्र र २ जना अन्य छन्।
नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न पाउनेछन् । त्यसका लागि साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिन पाइने न्यौपानेले बताए ।














