
काठमाडौं । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत– ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा स्वर भरेका छन् लोकप्रिय गायिका स्मिता प्रधानले । शब्द सिर्जना सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारी र राजु कार्कीले संगीत संयोजन गरेका छन् ।
गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भने, ‘यो गीत गाउनु मात्र नभई महसुस गर्नु थियो । यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।’
सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भने, ‘जीवन शर्मासँगको सहकार्यबाट सधैं विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।’
जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहेका छन्, उनका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पाँच दर्जनभन्दा धेरै गीतमा उनले संगीत भरेका छन् ।
गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । ‘एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ’, गीतकार अधिकारीले भने, ‘गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।’
गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘असार मास’ केवल गीत नभएर, माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताए ।
भारत कालिम्पोङ कि स्मिता प्रधान एक प्रतिभाशाली गायिका हुन् । जसले ‘द भ्वाइस अफ नेपाल सिजन–५’ मा भाग लिएर दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भएका थिए । विभिन्न चरण पार गर्दै नकआउट राउन्डमा पुगेर आउट भएका उनले कोचहरूको र दर्शकहरूको मन जितेका थिए । बिजेता हुन नसकेपनी उनी गायन क्षत्रमा ब्यस्त छन् ।











