काठमाडौं । घुसकाण्डमा जोडिएर राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्वाइस टेस्ट’का लागि हाजिर हुन भनेको छ ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि गुप्ताले राजीनामा दिएका थिए । अख्तियारले गुप्तालाई ‘भ्वाइस टेस्ट’ का लागि मङ्गलवार हाजिर हुन भनेको हो ।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए ।
तर गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो ।
पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले’ भ्वाइस टेस्ट’ गरेर अनुसन्धान अघि बढाउने तयारी अख्तियारले गरेको छ । अख्तियारको प्रारम्भिक अनुसन्धान अडियो गुप्ताकै भएको खुलेको छ ।
यो पनि पढ्नुहोस्
यो पनि पढ्नुहोस्














