Logo
Logo

माओवादीमा एक्ल्याइँदै नारायणकाजी समूह


शरद् रिजाल

11.6k
Shares

सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको दुई दशक पुग्दा पनि नेकपा(माओवादी केन्द्र)मा अझै योग्यता र क्षमताको प्रमुख मापदण्ड जनयुद्धमा सहभागी भएकै आधारमा तय गर्ने गरिन्छ । जनयुद्ध लडेकाहरूलाई प्रमुखताका साथ पार्टीमा हरेक अवसरदेखि जिम्मेवारीमा समेत प्राथमिकता दिँदै आइएको छ । जनयुद्ध लडेका र नलडेकाहरूको बीचमा माओवादी केन्द्रभित्र अझै पनि ठूलो विभेद छ ।

शान्ति प्रक्रियामा आएयता पार्टीमा समाहित भएको तत्कालीन नेकपा(एकता केन्द्र) पक्षधर नेताहरू सधैँ पार्टीभित्र उपेक्षित हुँदै आएका छन् । जनयुद्धमा जाने विषयमा असहमति जाहेर गर्दै अलग भएको एकताकेन्द्र समूह माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै पार्टीमा समाहित भएको हो ।

माओवादीमा वरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठ पूर्व एकताकेन्द्र समूहको नेतृत्व गर्दै समाहित भएका हुन् । उनी प्रचण्डसँग एउटै पार्टीमा हुँदा जनयुद्ध लड्ने निर्णयमा असहमत हुँदै अलग भएर शान्ति प्रक्रियापछि मात्रै एकता गरेका हुन् । उनै श्रेष्ठले केही समय अघि एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेको विषयले पार्टीमा बबन्डर मच्चायो । श्रेष्ठले भण्डारीलाई भेट गरेर वाम एकताको विषयमा छलफल गरेको समाचार सञ्चार माध्यममा सार्वजनिक भएपछि प्रचण्ड पक्षले असह्यै भएर विज्ञप्ति निकालेर त्यसलाई खण्डन गरेको थियो ।

गत असार २३ मा माओवादी प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै एमालेसँग पार्टी एकता गर्ने माओवादीको कुनै नीति नरहेको बताउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भेटेको विषयमा पार्टीलाई कुनै जानकारी नभएको जनाए । यसले पार्टीमा श्रेष्ठ पक्षधर नेताहरू सशंकित भएका छन् । त्यसलगत्तै अमेरिका पुगेका श्रेष्ठले अन्य दलका नेता भेट्न पार्टीको अनुमति लिन नपर्ने बताउँदै अध्यक्ष प्रचण्डले समेत पार्टीमा जानकारी नदिएर नै नेता भेट्ने गरेको जवाफ फर्काए ।
पार्टीका वरिष्ठ उपाध्यक्षले देशको सर्वोच्च पदमा पुगेको पूर्वराष्ट्रपतिलाई भेट्दा पार्टीले संस्थागत रूपमै विज्ञप्ति निकालेर खण्डन गर्नु श्रेष्ठमाथिकै अपमान भएको उनी पक्षीय नेताहरूले गुनासो गरेका छन् । श्रेष्ठ समूहमाथिका यस्ता अपमान र उपेक्षा माओवादीभित्र बग्रेल्ती छन् । माओवादीबाट विभाजित भएर अलग भएकाहरूले त सधैँ पार्टी बिगारेको र विभाजनको कारक नै श्रेष्ठ र उनको समूह भएको आरोप लगाउँदै आएका छन् । अहिले पनि पार्टीभित्रै पूर्ववत् एकता केन्द्रको समूहलाई हरेक निर्णय प्रक्रियामा बेवास्ता गर्दै उपेक्षा गरिँदै आइएको छ ।

यसअघि एमसीसीको विरुद्धमा माओवादीले सडकमा कार्यकर्ता उतारेर सदनमा १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित पारित गर्न तयार हुँदा पनि श्रेष्ठ असन्तुष्ट थिए । उनी सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै सडक आन्दोलनमा समेत सहभागी भएका थिए । तर अचानक पछि हटेर पारित गर्न तयार भएका प्रचण्डले उनलाई पार्टी छाडे पनि फरक नपर्ने आशयको अभिव्यक्ति सार्वजनिक रूपमै दिएका थिए । यसरी बारम्बार माओवादीमा श्रेष्ठ समूह उपेक्षित भइरहेको छ । तथापि, सांगठनिक रूपले कमजोर भएर प्रचण्डको प्रतिवाद गर्ने सामथ्र्य नहुँदा निरीहतापूर्वक सहेर बस्न बाध्य छ ।

भर्खरैको सदन खोल्ने दुई बुँदे सहमतिप्रति पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका थिए । एमालेसँग माओवादीले गरेको दुई बुँदे सहमतिको औचित्यमाथि नै प्रश्न उठिरहेको बेला श्रेष्ठले पनि असन्तुष्टि पोखेका थिए। पार्टीमा छलफल बिना सहमति गरिएको भन्दै त्यसबारे आगामी बैठकमा समीक्षा गर्नुपर्ने उनले सार्वजनिक रूपमै बताएका छन् ।

पार्टीका हरेक अवसर र जिम्मेवारी बाँडफाँडमा पनि श्रेष्ठ समूहलाई सामान्य प्रतिनिधित्व मात्रै गराइएको छ । उनको समूहलाई सरकार र पार्टीकै जिम्मेवारीमा समेत सीमित कोटा निर्धारण गरिन्छ । माओवादीको २२ सदस्यीय पदाधिकारीमा श्रेष्ठ समूहका ३ जना मात्रै छन् । त्यसमध्ये पनि सचिव रहेका लिलामणि पोखरेल समेत प्रचण्डतिर लागेको बताइन्छ ।

अहिले पूर्वएकताकेन्द्र समूहबाट श्रेष्ठसहित उपमहासचिव गिरिराजमणि पोखरेल रहेका छन् । पार्टीमा एकताबाटै आएको आधारमा श्रेष्ठलाई दोस्रो वरियता दिइएको छ । तथापि, सम्पूर्ण कमिटीमा उनी पक्षीय नेताहरूको कमजोर उपस्थिति भएकाले कतै पनि निर्णायक भूमिका रहँदैन ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को सक्रिय राजनीतिमा पुनरागमनको विपक्षमा श्रेष्ठ उभिएका थिए । गणतान्त्रिक व्यवस्थाको उच्चतम तहमा पुगेर अभिभावकीय भूमिका निर्वाह गरिसकेकाहरू दलीय राजनीतिमा फर्कँदा गणतन्त्रकै तेजोवध हुने उनको धारणा थियो । यता, पूर्वउपराष्ट्रपति पुन भने श्रेष्ठ समूहलाई नै चुनौती दिन माओवादीमा फर्किएका थिए ।

माओवादीका एक नेताका अनुसार पासाङको पुनरागमन समेत श्रेष्ठ समूहकै कारण भएको हो । श्रेष्ठले पार्टी बिगारेको भन्दै पूर्वउपराष्ट्रपति पुन पार्टीमा फर्किएका हुन् । माओवादी सेनाका कमाण्डर रहेका पुनले आफ्ना निकटस्थसँग ‘पार्टी नारायणकाजीले बिगारेकाले बनाउन आफू सक्रिय राजनीतिमा लाग्ने’ बताउँदै आएका थिए । त्यसकै उपज चौतर्फी विरोध हुँदा पनि प्रचण्डले पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षमै भित्र्याएका हुन् ।

माओवादी संस्थापन पक्षका नेताहरूमा जनयुद्धले नै पार्टी बनाएकाले शान्ति प्रक्रिया पछि आउनेहरूको पार्टी निर्माणमा कुनै भूमिका नभएको भन्दै हेप्ने गर्दछन् । त्यसकै सिकार पछिल्लो समय श्रेष्ठ समूह भएको छ । शान्ति प्रक्रिया पछि आएका उनको समूहबाहेक अन्यलाई पनि युद्धबाट आएकाहरूले आफ्नो भाग खोस्न आएको भन्दै उपेक्षा गर्ने गरेको नेताहरू बताउँछन् ।

माओवादी अध्यक्ष प्रचण्डकै जोडबलमा एकताकेन्द्र समूहको नेतृत्व गर्दै नारायणकाजी श्रेष्ठले पार्टी एकता गरेका थिए । यसमा प्रचण्ड र श्रेष्ठ दुवैको स्वार्थ मिलेर नै एकता भएको थियो । २०६५मा श्रेष्ठको समूह माओवादीमा भित्रिएपछि पार्टीको नाम समेत एकीकृत नेकपा(माओवादी) राखियो भने प्रचण्डपथ समेत सदाका लागि परित्याग गरिएको थियो । यसका साथै माओवादीले आफ्नो मार्गदर्शक सिद्धान्त माओवाद समेत छाडेर माओ विचारधारामा सीमित भएको थियो । यद्यपि, अहिले भने माओवादीले चलनचल्तीमा माओवाद नै प्रयोग गर्ने गरको छ ।

एउटा सानो समूहलाई भित्र्याउन प्रचण्ड आफूले अंगीकार गर्दै आएको विचार परित्याग गर्नु तयार हुनुका पछाडि पार्टीमा आफूमाथि निम्तिएको नेतृत्वको संकट टार्नलाई थियो । जब प्रचण्ड पार्टीमा अल्पमतमा पर्ने अवस्था निम्तियो तब मात्रै उनले श्रेष्ठ समूहलाई भित्र्याएका हुन् ।

माओवादीमा शान्ति प्रक्रियामा आएयता पार्टीमा आन्तरिक किचलो बढ्दै गयो । पार्टीभित्र शान्ति र संविधान कि विद्रोह भन्ने विषयमा अन्तरसंघर्ष निकै चर्कियो । भक्तपुरको खरिपाटी बैठकमा प्रचण्ड अल्पमतमा पर्ने सम्मको अवस्था निम्तिएपछि आफू बलियो बन्न उनले हतारिएर श्रेष्ठ समूहसँग एकता गर्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीमा प्रचण्ड पक्ष बलियो देखियो भने मोहन वैद्य समूह कमजोर बन्न पुग्यो । र, अन्ततः उक्त समूह पार्टीबाटै बाहिरियो ।

अहिले पनि माओवादीको विभाजित घटकका नेताहरुले माओवादीको क्रान्तिकारी धार कमजोर बनाउन एकताबाट आएको श्रेष्ठ समूहकै प्रमुख भूमिका रहेको निष्कर्ष निकालेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको सार्वजनिक दस्ताबेजमा समेत सोही उल्लेख गरिएको छ । फलतः उक्त समूह अहिलेसम्म प्रचण्डसँग टाढिएर एकताका लागि संवाद समेत गर्न तयार छैन । श्रेष्ठकै उपस्थितिले पार्टीभित्रको क्रान्तिकारी धार अल्पमतमा परेर संसदीय धार बलियो भएको आरोप विभाजित माओवादी घटकहरूले लगाउँदै आएका छन् । यसरी प्रचण्डको निहित स्वार्थ र श्रेष्ठको शक्तिशाली दलमा समाहित हुने मनोकांक्षाले पार्टी एकता भएको थियो ।

तत्कालीन नेकपा(एकताकेन्द्र) नामक एउटै दलमा रहेका श्रेष्ठ र प्रचण्डहरू जनयुद्धको विषयमा मतभेद भएपछि अलग भएका थिए । त्यसयता विभाजित प्रचण्ड नेतृत्वको समूहले माओवादी नामकरण गरेर जनयुद्धमा होमियो भने श्रेष्ठ समूह एकता केन्द्रकै नाममा शान्तिपूर्ण राजनीतिमै रहेको थियो । यद्यपि, श्रेष्ठ समूहले केही समयमै स्वतन्त्र अस्तित्व कायम राख्न नसकेर मोहन विक्रम सिंहको नेकपा(मसाल)सँग २०५९ सालमा पार्टी एकता गर्दै फेरि ६२ सालमा पार्टी विभाजित गरेर एकताकेन्द्र नै पुनर्गठित गरेका थिए ।

२०३० को दशकमा मोहन विक्रम सिंह र निर्मल लामाद्वारा गठित नेकपा(चौम)का विभाजित घटकहरू नै श्रेष्ठ र प्रचण्डको पूर्ववत् दल हुन् । चौमबाटै विभाजित भएर मशाल(मोटो), मसाल(पातलो) र चौमकै नाममा तीन दल बनेका थिए ।

मोहन वैद्य हुँदे प्रचण्ड नेतृत्वको नेकपा(मशाल), मोहन विक्रम सिंहको मसाल र निर्मल लामाको चौम सहित ४० को दशकमा तीन वटा पार्टीमा विभक्त भए । यिनै विभाजित तीन घटक मध्ये निर्मल लामा नेतृत्वको चौममा ४० को दशकमा श्रेष्ठ भित्रिएका हुन् । त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध थिए ।

त्यही चौम, प्रचण्ड नेतृत्वको मशालससहित अन्य ससाना वाम घटकहरूबिच एकता भएर २०४८ सालमा नेकपा(एकता केन्द्र) गठन भएको थियो । त्यही एकता केन्द्र फेरि ५१ सालमा विभाजित भएर प्रचण्डको नेतृत्वमा नेकपा(माओवादी) गठन गरी जनयुद्ध सुरु गरेको थियो । त्यसपछि १० वर्षे युद्ध बिसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा आएलगत्तै ६५ सालमा श्रेष्ठको समूह समाहित भएर हालसम्मै अनेकौँ अन्तरविरोधका बाबजुद सँगै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्