काठमाडौं । प्रधानमन्त्री नबन्दै बालेन्द्र साह (बालेन)ले आफ्नो सचिवालय बनाउन थालिसकेका छन् । प्रदीप परियारले नै सम्भवतः निजामती सेवाको तर्फबाट अब बन्ने प्रधानमन्त्री बालेन साहको सचिवालय सम्हाल्नेछन् । रास्वपाका वरिष्ठ नेता साहले सरकारको नेतृत्व गरेपछि परियारले निजामती कर्मचारीको तर्फबाट सचिवालय सम्हाल्ने गरी तयारी भैराखेको स्रोतको दावी छ । स्वकीय सचिवालय मात्र होइन, बालेनले सरकार सञ्चालनका मोडालिटीबारे पनि छलफल गरिरहेका बेला परियारलाई आफ्नो सचिवालयमा ल्याउन लागेको स्रोतले दृष्टिलाई बताएको छ ।

निजामति कर्मचारीमा नयाँ रेकर्ड कायम गर्न सफल बनेका परियार संभवत सबैभन्दा कान्छो उमेरको सहसचिव निकाल्ने रेकर्ड कायम गरेका थिए । २०४६ साल वैशाखमा जन्मेका उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २०७८ साल चैतमा शाखा अधिकृतको रूपमा कार्यरत परियार खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका थिए । २ जनाको लागि खुलाइएको सहसचिव खुलामा प्रदीप र गुल्मीका सुरेश पन्थीको नाम लोक सेवा आयोगको ८ चैतको बैठकले सिफारिस गरेको हो । पर्वत फलेवास स्थायी ठेगाना भएका परियारले काठमाडौं महानगरमा बालेन्द्रसँगै काम गरेका थिए ।
२०८० माघमा बसन्त अधिकारीलाई बालेन साहले बिदामा बस्न निर्देशन दिएपछि सरकारले उनै परियारलाई कार्यकारी अधिकृत बनाएर पठाएको थियो । त्यतिबेला योजना आयोगमा रहेका परियारलाई सरकारले कार्यकारी अधिकृत बनाएर पठाएपछि बालेन्द्र साहसँग सम्बन्ध राम्रो भएको थियो ।
परियारलाई बालेनले नै रोजेर महानगरमा लगेका थिए । महानगरमा केबल ७ महिना मात्रै टिकेका परियारलाई २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको थियो ।











