काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार युद्धविराम गर्ने सहमति भएको अमेरिकी अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एकअर्काको सैन्य संरचनामा हवाई आक्रमण गरेको थियो । युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि अमेरिकी मिडिया सिएनएनले जनाएको छ ।
चार दिनसम्म चलेको सीमा युद्धमा दुई देशका कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार नै दुई देश युद्धविराम गर्ने सहमतिमा पुगेको घोषणा गरेका थिए ।
उनले सोशल मिडिया ट्रुथमा लेखेका थिए, ‘उनीहरूले चाँडै वार्ता टेबलमा बसेर शान्ति स्थापना सुनिश्चित गर्नेछन् ।’ ट्रम्पले कम्बोडियाका प्रधानमन्त्री हुन मनेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायचाइसँग कुराकानी पनि गरेको बताएका थिए ।
उनले दुई देशका प्रमुखहरुलाई तनाव जारी राखे दुवै देशसँग व्यापार सम्झौता नगर्ने चेतावनी दिएका थिए । अघिल्लो महिना ट्रम्पले दुवै देशलाई पत्र पठाएर उनीहरूले अमेरिका निर्यात गर्ने सामानमा अगस्टदेखि ३६ प्रतिशत भन्सार लगाउने जानकारी गराएका थिए ।










