दुनियाँलाई सदियौंदेखि आन्तरिक लोकतन्त्रको बारेमा नैतिकताको पाठ पढाउने नेकपा एमालेको नवौं केन्द्रिय कमिटीको बैठक आश्चर्यपुर्ण रह्यो । नेकपा एमालेकी पुर्वउपाध्यक्ष क. बिद्या भण्डारीको राजनीतीक उमेरले विश्राम लिने अबधी नपुग्दै बार्दलीमा बिराजमान गराएर भुँइमा झरेर राजनीतिक हातगोडा तन्काउन खोजे वान्छनीय हुनेछैन, भन्दै ब्यक्तिगत राजनीति जीवनलाई नै प्रवेश निषेध र नजरबन्द गराउनु नेकपा एमालेको केन्द्रिय कमिटिको नवौं निर्णय अलोकतान्त्रिक छ ।

नेपालको वामपन्थी राजनीतिमा मियोको रुपमा उभिएको नेकपा एमालेको कुनैपनि निर्णयहरु सम्पुर्ण नेपाली राजनीतिक दलहरुको चासोको बिषय बन्ने गरेको छ । सरकारमा रहँदा देश र जनताको लागि प्रत्यक्ष प्रभावपार्ने कार्यक्रमहरु नेकपा एमालेको पेट्बोली हुन आउँछ ।
आजकल नेकपा एमाले अलि बिकशित भएर हो अथवा सरकारी कामकाजले ब्यस्त भएर हो पार्टीभित्र विचार, बहस र लोकतन्त्रको आवाजलाई अलि छोट्याउँदै लग्न थालिएको छ; बाँकी छ भने केवल आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढीकरण गर्दै अगाडी बढ्ने प्रवल इच्छा भएका केही अल्पतमा परेका नेताहरु । अनि अब प्रश्न उठ्छ र प्रश्न गर्छन ? नेकपा एमाले के अब ओलीको निजी सम्पत्ति र निजि कम्पनी हो ? अनि पार्टीका सामानुपातिक सांसद दयालबहादुर साहीको उत्तर आउँछ हो ।
फेरि प्रश्न सोधिन्छ, किन यत्रो गौरवशाली पार्टीभित्र अरुहरुको रगत पसिना बगेको छैन ? फेरि उनकै उत्तर आउँछ– यहाँ ओली कम्पनीको नेतृत्वबिरुद्ध तगारो बन्न पाइन्न ? के चीनका सिजिपिङ्ग, रुसका पुटिन र अमेरिकी डोनाल्ड ट्रम्पका विरुद्ध बोल्दा के हुन्छ थाहा छैन ? उल्टै प्रश्न त्यस्र्याउँछन् उनी ? लोकतान्त्रिक मुलुकमा यस्ता निर्लज्ज सब्दहरुले कडा उत्तर दिने संघीय सांसदहरु पनि देखियो । थुतुनोमा लोकतन्त्रका हिमायती हुन् दयाल ।
पूर्वउपाध्यक्ष क. विद्या भण्डारीलाई पार्टी प्रवेशमै ‘पाखा’ लगाइएको चर्चा यत्तिकै आएको होइन । ओलीकै बलमा राष्ट्रपति बनेकी भण्डारी, संसद् विघटनजस्ता विवादास्पद निर्णयमा खुलेर ओलीको पक्षमा उभिएकी भण्डारी, अहिले पुनः राजनीतिमा सक्रिय हुन खोज्दा आफ्नै पुरानै घरबाट स्वागत पाएकी छैनन् । किन ? मेरो ब्यक्तिगत बिचारमा ‘विद्या भण्डारी पुनः पार्टी राजनीतीमा आइन् भनेअर्को शक्ति केन्द्र बन्छिन् भन्ने ओली कमरेड्लाई ठूलो डर रहेछ ।’ क. ओलीले नेकपा एमालेलाई मुठ्ठीभित्र कँज्याएका छन् । विद्या भण्डारीलाई रोक्नु त्यसैको ज्वलन्त प्रमाण हो । नकी, आफ्नो प्रतिस्पर्धी कोही छेउ नपरुन् ।
पार्टी अध्यक्ष ओलीको नेतृत्वशैलीको प्रतिविम्ब हो । जहाँ असहमतिको स्थान छैन, विकल्पको कल्पना छैन । उत्तराधिकारिको कुनै किटान छैन । पार्टीभित्र निर्वाचन औपचारिक, वैचारिक बहसहरु मौन र शीर्ष निर्णय अध्यक्षकै इच्छामा सीमित छन् । हिजोको एमालेमा जहाँ बहस हुन्थ्यो, असहमति सुन्ने कानहरु थिए । असहमतिका आवाजहरुको नेतृत्व क. ओली आफँैले गर्नुहुन्थ्यो ।
आज आफू नेतृत्वमा आइसकेपछि चाहिँ नेकपा एमालेलाई ‘वान म्यान पार्टी’को रुपमा रूपान्तरण गराउनुभो । अध्यक्षका विभिन्न कार्यक्रमहरुका भाषणमै पनि यो सुनिन्छ । केही ताली पड्काउने समर्थकको आड्मा हौसिनु पनि त्यति वान्छनिय हु्ँदैन होला । ‘पार्टी मैले नै बनाएको हो, मैले नै जोगाएको हो, मैले नै बचाउनेछु ।
म अझै १५/२० बर्ष बूढो हुन्न ? म बिना अब प्रकृतिले एउटो पात पनि हल्लाउन सक्दैन भन्ने’ उहाँको अहंकारी र आदर्शहिन मानसिकता आन्तरिक लोकतन्त्रको मृत्यु शोक हो । मैले यो कुनै नेकपा एमाले बिरोधीहरुलाई खुसी बनाउन भनेको होइन । म आफुले भोग्दै र देख्दै आएको हुँ । जाबो एउटा स्थानीय पालिकामा एउटाले पाइसकेको टिकट त खोसेर अर्कैको हातमा पार्न निर्देशन गर्नुभयो । फलस्वरुप पार्टी स्थानीय तहमा चकनाचुर भयो । अब योभन्दा अगाडि म बढ्न चाहिन ।
अध्यक्ष ओलीको नेतृत्वले एमालेलाई शक्तिशाली बनाएको हो भन्ने अस्वीकार गर्न सकिँदैन यो जगजाहेर नै छ । २०७४ को ऐतिहासिक बहुमतको उपलब्धी राष्ट्रियतामा उभ्याउने शैली, चीन र हिन्दुस्थानबीच सन्तुलनको आँट, यी उपलब्धिहरू उहाँका हुन् । तर अहिले क. ओली आफैँले त्यो रेखा काट्दै हुनुहुन्छ । संस्थाभन्दा पनि आफुलाई अब्बल देखाउने उहाँको राजनीतिक सैलीका कारण कतै उहाँले नेतृत्व गर्दै गरेको नेकपा एमाले स्वाहा हुने त होइन ?
परिणामस्वरुप एमाले अब ओलीविना कल्पनै गर्न नसकिने एमाले प्रचार बिभाग प्रमुख क. राजेन्द्र गौतम प्रत्यकपटक श्वास लिँदा ओलिबिना यो संसार नै सम्भव छैन भन्दैछन ? अब साँच्चिकै क. बिद्याले नेतृत्वदायी भुमिका लिनुभएन भने शतप्रतिशत क. ओलीपछिको भविष्य शून्य हुने अवस्थामा पुगेको छ । १९ बर्ष एकलौटी शासन गरेको कम्युनिस्ट पार्टी ज्योतिबशुको मृत्युपश्चात् पश्चिम बंगालको कम्युनिस्ट पार्टी आज काहाँ छ ? कृपया जानकारी भए नाथे म बबुरोलाई बताइदिनुहोला । जान्ने मौका पाउनेथिएँ ।
मुलुकको सन्दर्भमा यस शैलीको असर झन् गहिरिँदै छ । संसद् विघटनदेखि संवैधानिक निकायहरूको प्रयोगसम्म ओलीले देखाएको अभ्यासले प्रणालीभन्दा व्यक्तिलाई ठुल्याउने प्रवृत्तिलाई मजबुत बनाएको छ । तर, मुलुक व्यक्तिले होइन, संस्थाले चल्छ । इतिहासले भन्छ, नेता बदलिन्छन्, प्रणाली रहिरहन्छ । बीपी कोइरालादेखि गिरिजाप्रसाद, शेरबहादुर देउवासम्म, प्रचण्डदेखि बाबुराम, खिलराजसम्म मुलुक उनीहरूमात्रैको भरमा चलेको थियो त ? त्यस्तो होइन । यहाँनेर कम्युनिस्ट नेता क. मनमोहन अधिकारीले पनि यो मुलुक हाँक्ने अबसर पाउनुभो ।
आज क. ओलीले हाँक्दै हुनुहुन्छ । ओलीले पार्टी र राष्ट्रको नेतृत्व सम्हाल्दै गर्दा जननेता क. मदन भण्डारीको परिवारले नेकपा एमालेभन्दा भिन्न र बाहिरै बस्नुपर्ने हो र ? के अपराध थियो क. बिद्याको ? नेकपा एमालेको खुल्ला राजनीतीबाट कुनचाहिँ लाभलिनु छ र उनलाइ ? र, प्रतिबन्ध लगाइयो ? उनीलाई साथसाथै लिएर हिँड्दा नेकएमालेलाई कुनै प्रकारको क्षति नपुग्ला । बरु फाइदै हुन्छ । तर यहाँ विद्या भण्डारीलाई पाखा लगाइनु केवल एउटा नेतृको अपमान मात्र होइन, जबज थला पार्दै, पार्टीभित्र विकल्पको स्थान मेटिँदै गएको संकेत हो ।
असहमतिलाई सुन्न नसक्ने र चुनौतीलाई सहन नसक्ने यस्तो ढंगबाट पार्टीलाई लामो समयसम्म टिकाउन सकिन्न । यही हो नेकपा एमालेको आजको संकट । अब के गर्ने ? उत्तर सजिलो छैन । तर, बाटो स्पष्ट छ । एमाले र मुलुक दुवैलाई संस्थागत राजनीतिमा फर्किनु जरुरी छ । ओलीको योगदान इतिहासमा राखेर पार्टीलाई आन्तरिक लोकतन्त्र र वैचारिक बहसमा फर्काउनु, नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्नु आवश्यक छ ।
ओली आज छन् । भोलि कोही अरू हुनेछन् अथवा होलान् या नहोलान् । नेकपा एमाले नेपालको राजनीतिक इतिहासमा अबिरल बग्दछ इन्द्रावती भनेजस्तै हो । तर, एमाले र मुलुकलाई स्थायी बनाउन व्यक्ति प्रधान होइन र हुनुहुन्न । बिधिवत प्रणालीमा लगानी गर्नुपर्छ । पुर्वउपाध्यक्ष क. विद्या भण्डारीलाई पाखा लगाएर नेकपा एमालेको आयु बढाउन सकिन्न । व्यक्तिले बनाएको पार्टी पनि व्यक्तिकै कारण थला पर्न सक्छ । (जस्तै प्रचण्डको पार्टी ) अब तत्काल, हामी सबैको आस्थाको धरोहर नेकपा एमालेलाई लोकतान्त्रिक पार्टी बनाउने हो ।
ओलीकै नेतृत्वमा हुर्किएको आन्तरिक लोकतन्त्रलाई स्थापित र नेतृत्व हस्तान्तरण गर्दै पार्टीको ऐतिहासिक संरक्षक भएर बस्दा देश र दुनियाँको भलो हुन्छ । कसैलाई मेरा कुरा नपच्न पनि सक्ला, तर मैले देखेको कुरो लेखेको हुँ ।
-लेखक नेकपा एमाले सर्लाही जिल्ला कमिटी पुर्वउपसचिव हुन् ।











