Logo
Logo

सुख्खा संकटबीच धनकौल गाउँपालिकाको राहत : सिँचाइका लागि शून्य शुल्कमा सेवा प्रवाह


1.3k
Shares

सर्लाही । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहको पहलमा मंगलबार बसेको कार्यपालिका बैठकले पालिकावासीलाई सहज हुनेगरी विभिन्न सेवाहरूमा शून्य शुल्क नीति लागू गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि धनकौल गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गरिने भएको छ । यो निर्णयले लामो समयदेखि आर्थिक भार र प्रशासनिक झन्झट खेपिरहेका किसान तथा आम नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा सुख्खाको चपेटामा परेका जनतालाई सहयोग पु¥याउन यो कदम चालिएको उल्लेख छ ।

गाउँपालिकाले सुख्खाग्रस्त अवस्थाको प्रत्यक्ष प्रभाव खेपिरहेका किसानको असहजतालाई बुझ्दै सिँचाइ योजनालाई पनि उच्च प्राथमिकतामा राखेको छ । विशेषगरी, पानीको अभावलाई सम्बोधन गर्न डिप ट्युबवेल बोरिङ जडान कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ, जसबाट कृषक वर्गलाई सिँचाइमा सहजता भई उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । गाउँपालिकाले सबै गाउँलेलाई यी सुविधाको लाभ लिन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहको यो कदमलाई उनको दोस्रो कार्यकालको एक महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । मेयर साहकै अथक प्रयासमा धनकौल गाउँपालिकाले ‘शून्य शुल्क’को नीति अवलम्बन गरेको र यस्तो कामले जनताको मन जितेको स्थानीय बताउँछन् । संकटको बेला जनताको पीरमर्का बुझेर गरिएको यो निर्णय अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्