
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले ७ बुँदे सहमति अनुसार सरकार सञ्चालन नगरेको बताए ।
साथै उनले जनतासमक्ष कामको पुष्टि गर्न सकेमात्रै सरकार सफल मानिने बताए ।
‘हामीसँग भएका सात बुँदा मध्ये एउटा पनि बुँदा कार्यान्वयनमा जान सकेन,’ उनले भने, ‘ सरकारले आफ्नो काम जनतासमक्ष पुष्टि गर्न सक्नुपर्छ । त्यसपछि मात्रै सरकार सफल मानिन्छ ।’
उनले संवैधानिक परिषद्मा दुई वा तीन जनाले मात्रै निर्णय गर्नसक्ने गरी पारित भएको विधेयक ‘खतरनाक’ भएको बताए ।
शक्ति पृथकीकरणको आधारमा संविधान बनाएको तर राष्ट्रियसभाले शक्ति पृथकीकरणको सिद्धान्तलाई नजर अन्दाज गरेको बताए । उनले भने ‘संविधानको स्प्रिटलाई नै समाप्त पारिएको छ । यो प्रजातन्त्रका लागि अत्यन्तै खतरनाक छ ।’
डा. कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको चर्चासमेत हराएको भन्दै त्यसका लागि नेपाली कांग्रेसको केन्द्रीय समितिले बनाउने भनेको कमिटीसमेत अझै गठन हुन नसकेको बताए ।














