Logo
Logo

नेतृत्व हस्तान्तरणको चिन्ता


डा. दीपेश केसी

1.4k
Shares

७० वर्ष उमेर कटिसकेका प्रधानमन्त्री केपी शर्मा ओली आफू जवान नै रहेको दाबी गर्छन् । सत्ताको शक्तिले जुन जोस दिन्छ त्यसले उनलाई जवान देखिन मन लाग्नु स्वाभाविक नै हो । सामान्य पारिवारिक पृष्ठभूमिबाट अनायासै राजनीतिमा लागेका ओलीले अहिलेको स्थान बनाउन निकै ठूलो संघर्ष गरेका छन् । डेढ दशक लामो कठोर जेल जीवन बिताएका ओलीलाई अहिलेको सत्ता सानो दुःखले मिलेको होइन । यसलाई निकै दुःखले आर्जेको पद ठानेका छन् ।

एमाले अध्यक्ष बनेपछि बल्ल ओलीका लागि प्रधानमन्त्री पदको ढोका खुल्यो । उक्त पदका लागि रातारात झलनाथ खनाल र बामदेव गौतमसँग भित्री सम्झौता गरेका थिए । तर, ती सम्झौता पद प्राप्तिसँगै बिर्सिदिए । षड्यन्त्रको राजनीतिबाट उनी पनि टाढा रहेनन् । निकै दुःख र षड्यन्त्र रचेर प्राप्त पद ओलीले सजिलै छाड्दैनन् भन्ने सन्देश दिइसकेका छन् । यस्तो लाग्छ उनी पनि मेरा साना दुःखले आर्जेको पद होइन, सबैलाई चेतना भया भन्दैछन् ।

एमाले अध्यक्षमा कायमै रहन विधानमा जे जे बाधक छन् ती सबै हटाएरै छाड्ने ओलीको ध्येय देखिन्छ । आफू पछिको नेतृत्व विकासमा आफ्ना अघिका एमाले नेताहरूले जस्तै ओलीले पनि ध्यान दिएनन् । बरु नेतृत्वका सम्भावना बोकेका नेताहरूलाई राजनीतिक रूपमा सिध्याउने रणनीति चालिरहे । भीम रावल निष्काशित गरिए । सुरेन्द्र पाण्डे धन्न टिकिरहेका छन् । अहिले ओलीलाई चुनौती दिएकी विद्या भण्डारीलाई रोक्न बैठक राखेर निर्णय गराइसके । विद्या पनि रोकिनेवाला देखिन्नन् ।

यसले ठूलै शक्तिसंघर्ष चल्ने छाँटकाँट देखिन्छ एमालेभित्र । यसले एमाले बाहिरको राजनीतिलाई समेत तरंगित पारिसकेको छ । ओली भने एमालेमा आजीवन अध्यक्ष बन्ने दाउमा अन्य दलका नेतालाई पनि त्यही मनोबल प्रदान गरिरहेछन् । जे जस्तो तर्क दिएर ओलीले विरोधीलाई पाखा लगाउने र रोक्ने गरिरहेका छन् त्यो उनको आजीवन एमाले अध्यक्ष रहने उद्देश्य सिवाय केही होइन । नेपाली राजनीतिमा आजीवन शक्तिमा रहने नेताहरूको प्रवृत्तिको पुनरावृत्तिका रूपमा ओली देखिएका हुन् ।

एमाले अध्यक्ष ओलीकै जस्तो शैली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि देखाउने निश्चितप्रायः छ । कांग्रेसको विधानमा दुईपटकभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था छ । देउवा दुईपटक सभापति भइसकेका छन् । ८० टेक्न लागेका देउवामा विधान नै परिवर्तन गरेर भएपनि फेरि नेतृत्वमा रहने चाहना देखिन्छ । नत्र कांग्रेसमा आफूपछिको नेतृत्व विकासमा उनको ध्यान केन्द्रित भइसक्थ्यो ।

देउवा समूहमै एकसे एक नेतृत्व गर्न सक्षमहरू छन् । उनीहरू देउवाका अन्ध समर्थकमा सीमित पारिएका छन् । उनलाई चुनौती दिइरहेका शेखर कोइरालालाई देउवाले उल्टै चुनौती थपिदिएका छन् । शेखर समूहका नेताहरूलाई क्षमता भएपनि अवसरबाट वञ्चित पार्ने देखि उक्त समूहकालाई नै आफ्नो समूहमा तान्ने गर्दै आएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले त आजीवन पार्टी हाँक्ने घोषणा जस्तै गरिसके । दश वर्ष लामो हिंसात्मक गतिविधि र त्योभन्दा अघि भूमिगत जीवन बिताएर अहिलेको स्थान बनाएका प्रचण्डले सजिलै नेतृत्व हस्तान्तरण गर्ने कल्पनाबाहिरको विषय हो । बरु आफ्ना प्रतिस्पर्धीलाई उनले पनि पाखा लगाएकै हुन् ।

सशस्त्र गतिविधि हुँदा होस् या शान्ति प्रक्रियामा आएपछि नै किन नहुन् प्रचण्डले तिनलाई पाखा लगाइदिए । मोहन वैद्य, बाबुराम भट्टराई, विप्लवजस्ता नेताहरूले माओवादी केन्द्र छाडेर अर्को पार्टी गठन गरे । बादल एमालेमा गए । प्रचण्डलाई चुनौती दिइरहेका जर्नादन शर्मालाई चेतावनी दिइसकेका छन् पछिल्लो समय । उनी अनेकन कार्ड फाल्दै माओवादीमा आफ्नो प्रतिस्पर्धी देख्नै चाहँदैनन् । नेतृत्व विकास गर्नुलाई आफ्नो करिश्मा घटाउनु ठान्छन् ।

देशको मुख्य तीन राजनीतिक दलका नेतृत्व आजीवन सत्ता र शक्तिमै रहनेगरी कार्य गरिरहेको छर्लंग हुन्छ । अन्य राजनीतिक दलमा पनि जो नेतृत्वमा छ ऊ आजीवन रहन चाहन्छ । उसले नेतृत्व विकास गर्नुपर्छ र भावी पुस्तालाई समयमै नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने सोच सम्म लिएको छैन । आफू नभए पार्टी नै चल्दैन र आफू नै सर्वोपरि हो जस्तो गरी राजनीति गर्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक बन्दै गएको छ ।

राजतन्त्रमा जस्तो राजा या रानीको देहावशानपछि मात्र नयाँ राजा या रानीलाई गद्दीमा आसीन गराउने शैली गणतन्त्रमा विकास हुन थालेको छ । जो नेतृत्वमा पुग्यो ऊ आजीवन शक्ति वृद्धिको मृगतृष्णामा भौँतारिएर देशलाई समेत घाटा पु¥याइरहन्छन् ।

नेताहरूले नेतृत्व विकासमा ध्यान नदिनुमा आफू कालजयी हुने भ्रम पालेर नेतृत्वमा रहिरहन खोज्नु एउटा कारण हो । अर्को हो नेतृत्वमा रहँदा अनियमितता गर्नु र नेतृत्व फुत्किएपछि सम्भावित कानूनी कारबाहीको भय । नेता रहेसम्म अनियमितता छोप्न या कारबाही रोक्न सकिने भएकाले पनि नेतृत्वमा रहिरहन चाहन्छन् । भावी पुस्ताप्रति विश्वास नगर्नुले पनि नेतृत्व हस्तान्तरण उनीहरूको चाहनामा पर्दैन । असल नेतृत्वले मात्र नेतृत्व विकास गर्छ र हस्तान्तरण पनि गर्छ ।

लामो जेल जीवन बिताएर दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका नेल्सन मण्डेलाले नेतृत्व विकास मात्र गरेनन् आफू जीवितै छँदा नेतृत्व हस्तान्तरण गरे । अटल विहारी वाजपेयीले आफू जीवितै छँदा नेतृत्व हस्तान्तरण गरेका थिए । खराब नेतृत्वले आजीवन सत्ताको चलखेलमा आफूलाई केन्द्रित गर्दछ । ४२ वर्ष क्यामरुनको सत्ता हाँकेका बिया ९२ वर्ष कटेपछि पनि चुनाव लड्ने तयारीमा छन् ।

ओबियाङले इक्वेटरियल गिनीलाई ४३ वर्ष हाँक्दा पनि नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन् । तानाशाही तरिकाले सत्तामा टिकेका यस्ता नेताहरूले आफू, परिवार र आसेपासेको हित रक्षा गरे । ती देशहरू भने झन् ओरालो लागे ।

पार्टीमा कार्यकर्तालाई आफ्नो सत्ताको पकड बलियो बनाइराख्न दुरुपयोग गर्ने नेताले नेतृत्व विकासमा ध्यान दिँदैन । कार्यकर्तालाई मात्र पिउसो सम्झेर व्यवहार गर्छ । राजनीतिक संस्कार दिएर लोकतान्त्रिक प्रतिस्पर्धाका लागि योग्य बनाउनेतर्फ लाग्दैन । न त उनीहरूलाई नेतृत्वका लागि तयार गर्दछ । आजीवन आफ्नो सत्ताको रक्षक मात्र देख्दछ ।

यसले न त राजनीतिक दलमा सुसंस्कार विकास हुन्छ न त नैतिकवान् नेतृत्व विकास हुनसक्छ । नेतृत्व हस्तान्तरण मात्र नेतृत्वमा पुगेको नेतृत्वले नै भावी नेतृत्व तयार गर्दछ । उसले जुन राजनीतिक संस्कार सिक्छ त्यही संस्कारको पालना गर्दै विकसित भएको नेतृत्वलाई सही समयमा नेतृत्व हस्तान्तरण गर्दछ ।

नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणको परिपाठी विकास नहुँदा राजनीतिमा नैतिकताको खडेरी परिसकेको छ । राजनीतिमा अगाडि बढ्न चाकडी चाप्लुसी गरेकाहरू हावी हुन थालेका छन् । षड्यन्त्रको तानाबुना चल्न थालेको छ । यसले देशको समग्र राजनीतिक धूमिल बन्दै गएको छ । सिद्धान्त र विचारको जगमा उठेका राजनीतिक दलहरूको नेतृत्वको सधैँ शक्तिमा रहिरहन चाहने प्रवृत्तिका कारण पार्टी भित्र र बाहिर दुवैतर्फ असन्तुष्टि आक्रोशमा बदलिन थालेको छ । जसका कारण सिद्धान्त र विचार नभएकाहरूले असन्तुष्टिको फाइदा लिन खोजेका छन् । नयाँ शक्तिका रूपमा त्यस्ता व्यक्तिहरूको झुण्डको निर्माण तत्कालका लागि लोकप्रिय देखिएला देशको भविष्यका लागि भने सकारात्मक मान्न सकिँदैन ।

सिद्धान्तबिनाका शक्तिलाई उद्देश्य मान्दै मिति राखेरै मिसन भन्न थाल्छन् । तिनले देशमा अर्को अस्थिरता मच्चाउने सिवाय केही रहँदैन । सिद्धान्तमा टेकेर संघर्षको बलमा उठेका राजनीतिक दलको नेतृत्वले जबसम्म नेतृत्व विकास र नेतृत्व हस्तान्तरणलाई राजनीतिक कर्तव्य सम्झँदैन तब विद्रोह र षड्यन्त्रको राजनीतिक चलिरहन्छ । राजनीतिक नेतृत्वले सत्ताको नेतृत्व मात्र गर्ने होइन आफ्नो त्याग तपस्या र भावी पुस्ता निर्माणबाट राजनीतिमा नैतिकता र असल आचरणको सन्देश पनि दिएर जानसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्