किएभ । युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रवार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ ।
मन्त्रालयले बिहीबारको आक्रमणमा १६ जना बालबालिकासहित १५९ जना घाइते भएको बताएको छ । दक्षिणपूर्वी युक्रेनको जापोरिझियामा शुक्रवार भएको रूसी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको यस क्षेत्रको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ ।
बिहीबारको आक्रमणपछि किएभले एक दिनको शोक मनाउँदै घातक आक्रमण गरेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्ना सहयोगीहरूलाई आक्रमणको केही घण्टापछि ‘रूसको शासन शैलीमा परिवर्तन’ ल्याउन दबाब दिन आग्रह गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको कार्यहरूको निन्दा गर्दै मस्को विरुद्ध नयाँ प्रतिबन्धहरू आउँदै गरेको सुझाव दिएका छन् । ट्रम्पले रूसले गरेको कार्य घृणित भएको बताएका छन् । गत सोमबार ट्रम्पले मस्कोलाई आफ्नो आक्रमण रोक्न आग्रह गर्दै अन्यथा प्रतिबन्धको सामना गर्न १० देखि १२ दिनको अल्टिमेटम जारी गरेका थिए ।











