कैलाली । कञ्चनपुरमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ झुन्डिएको अवस्थामा घरमै मृत फेला परेकी हुन् ।

उनको हत्या भएको आशंका माइती पक्षले गरेका छन् । घटना अनुसन्धानका लागि उनका पति २४ वर्षीय पवन भट्टलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराले जानकारी दिए ।
घटना शंकास्पद देखिएको डीएसपी बोहोराले बताए । उनका अनुसार सम्झनाको शरीरमा ठूलो बाहिरी चोट नदेखिएपनि नंग्य्राएका जस्ता चोटपटक देखिएको छ । ‘घटना शंकास्पद देखिएकाले मृतक युवतीका पति पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ’उनले भने ।
यसअघि पनि सम्झनामाथि कुटपिट हुने गरेको र शरीरमा घाउचोटसमेत देखिएको भन्दै हत्या भएको आरोप लगाएका छन् । सम्झना घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारका सदस्यले बताएका छन् ।
सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो । विवाहपछि छोरीलाई ज्वाइँले मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको आरोप छ ।
मृतक सम्झाना कक्षा १२ मा अध्ययनरत थिइन् । उनको शव पोस्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।














